न्यायलयमाथि राजनीति
सांसद्हरूले ‘बदला महाअभियोग’ले एमालेको साख कमजोर हुन्छ भनेपछि हच्किए ओली
काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूले बदला लिने मनसायले प्रेरित भएर कुनै पनि कदम उठाउँदा त्यसले पार्टीको साख कमजोर हुने बताएका छन् ।
सत्ता गठबन्धन समर्थित सांसदहरूले आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि आफ्नो थप रणनीति तय गर्नका लागि प्रतिपक्षी एमालेले आज संसदीय दलको बैठक बोलाएको हो ।
दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने संवैधानिक इजलासका अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता गर्ने एमालेको तयारीका सम्बन्धमा संसदीय दलको बैठकमा छलफल भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले हिजै साँझ सचिवालय बैठक बोलाए भने लगत्तै आज ११ बजे संसदीय दलको बैठक बोलाइएको थियो ।
सचिवालय बैठकले निर्वाचन भाँड्न र अस्थिरता सिर्जना गर्न सत्ता गठबन्धनले संसदबाट पास नै नहुने महाअभियोगको प्रस्ताव गरेको निष्कर्ष निकालिएको थियो । सत्ता गठबन्धनसँग महाअभियोग अनुमोदन हुन आवश्यक दुई तिहाई सांसद छैनन् ।
एमालेले परमादेश जारी गरेर अदालतले आफ्नो दलमाथि राजनीतिक फैसला गरेको र अहिले गठबन्धनले पुनः अदालतमा राजनीति घुसाएको निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव अनुमोदन हुनेगरी ल्याउन खोजेको भए एमालेसँग सल्लाह नगरी एकपक्षीय रूपमा ल्याउने थिएन भन्ने ओलीको बुझाई छ ।
उनले परमादेश जारी गरी आफूलाई सरकारबाट हटाउने सबै न्यायाधीशलाई महाअभियोग लगाउने खण्डमा मात्र आफू प्रधानन्यायाधीशको महाभियोगको प्रस्तावमा छलफल गर्न तयार हुने अडान ओलीले राख्दै आएका थिए ।
अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आचरण र न्यायसम्पादनको निष्ठालाई लिएर १०७ दिनदेखि कानुन व्यवसायीहरू आन्दोलित थिए । जुन आइतबार महाअभियोग प्रस्ताव दर्तासँगै टुंगिएको छ ।
एमाले सांसदहरूले चोलेन्द्रको सार्वजनिक छवि बद्नाम भैसकेकाले उनलाई बोकेर हिंड्न नसकिने र निर्वाचनको संघारमा सत्ता गठबन्धनको कार्यको प्रतिवादस्वरूप चार न्यायाधीश विरुद्ध महाअभियोग दर्ता गरेर त्यो कुनै निष्कर्षमा नपुग्ने बताएका थिए ।
एकातिर संघारमा आइसकेको निर्वाचन विथोलिने अर्कोतर्फ अस्वभाविक प्रतिक्रिया जनाएर न्यायाधीशहरूमाथि राजनीतिक इवी साँध्दा त्यसले पार्टीलाई क्षति हुने भएकाले समझदारीपूर्ण ढंगले परिस्थितिको आँकलन गर्दै निर्वाचनमा केन्द्रीत हुने निष्कर्ष निकालिएको एमालेका एक सांसदले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया