दल

एमसीसी टेबल गर्नेमा हाम्रो आपत्ति छैन : एकीकृत समाजवादी

इकागज |
फागुन ७, २०७८ शनिबार १५:४४ बजे

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले अ‍ेमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ ।एकीकृत समाजावादीका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी संसद्‍मा पेस भए यथास्थितिमा पारित गर्न नसकिने निर्णय भएको बताए ।

उनले भने, 'यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको हो ।’ यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । 


‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ 

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए । जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । 
 


Author

थप समाचार
x