दल

चीनसँग कूटनीतिक सम्बन्धमा खाडलले राजनीतिक सम्बन्धकाे रजाइँ

इकागज |
फागुन ८, २०७८ आइतबार १४:५२ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको कात्तिकमै भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिश गर्‍यो । तर उत्तरी छिमेकी देश चीनमा राजदूत सिफारिश प्राथमिकतामा परेन । नेपालले दुई छिमेकीसहित शक्ति राष्ट्रसँगको सम्बन्धलाई सधैं प्राथमिकता दिँदै आएको छ । 

चीनमा राजदूत पठाउन प्रधानमन्त्रीको उदासीनताको प्रमुख कारण हो– चीनका लागि नेपाली राजदूतमा वामपन्थी दलहरूको दाबी । वास्तवमा दुई छिमेकी र शक्ति राष्ट्रमा प्रधानमन्त्रीले दलीय निकटताभन्दा पनि योग्यता र क्षमताका आधारमा प्रोफेसनल (व्यावसायिक) व्यक्तिलाई राजदूत सिफारिश गर्नुपर्ने हो । 


चीन लगायत २० मुलुकमा राजदूत रिक्त छन् । उत्तरी छिमेकी चीनमा भने राजदूत मात्र होइन, डेपुटी चिफ अफ मिसन सुशील लम्साल पनि परराष्ट्र मन्त्रालयमा फर्केको लामै समय भइसकेको छ । यसअघि बेइजिङस्थित नेपाली दूतावासमा कार्यरत कन्सुलर कौशल किशोर राय कार्यबाहकको जिम्मेवारीमा छन् । राय हालै सहसचिवमा बढुवा भएका हुन् । 

यतिबेला नेपालको चीनसहित भारत र अमेरिकासँगको सम्बन्धमा पनि उतारचढाव देखिएको छ । परराष्ट्र मन्त्रालयले अग्रिमाका लागि पठाएका अमेरिका र भारतका राजदूतको अग्रिमा अझै आएको छैन । भारतसँगको सीमा विवाद, जयसिंह धामी हत्या प्रकरण लगायतका कारण भारतसँगको सम्बन्धमा खटपट छ । त्यस्तै, अमेरिकी सहयोग सम्झौता अघि बढाउन भैरहेको अलमलका कारण अमेरिकासँगको सम्बन्ध पनि स्थिर र प्रगाढ हुन सकेको छैन । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले त नेपालले अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन लागेको सम्बन्धमा सार्वजनिक अभिव्यक्ति नै दिए । चीनमा नेपाली राजदूत नहुनुले चिन सरकारसँग नेपालको राम्रो संवाद हुन नसक्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालको संवेदनशीलतालाई ख्याल नगरी अभिव्यक्ति दिएको कूटनीतिक मामिला जानकारहरू बताउँछन् । 

नेपालको अर्को कुनै मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई लिएर तेश्रो मुलुकले अभिव्यक्ति दिनु गलत हो । अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला सहायक विदेशमन्त्री डोनाल्ड लुले केही नेपाली शीर्ष नेताहरूसँगको संवादमा एमसीसी सम्झौता संसदमा अघि बढाउने सम्बन्धमा लामो समयदेखि नेपाल अनिर्णित रहनुमा खासगरी चिनियाँ उक्साहट मुख्य कारण मान्ने बताएसँगै नेपाल अमेरिकी र चिनियाँ प्रतिस्पर्धा र द्वन्द्वको घानमा पर्ने जोखिम बढेको थियो । 

परराष्ट्र मामिला जानकार एवं पूर्व राजदूत डा. भेषबहादुर थापा नेपालको आफ्नै खालको भूराजनीतिक संवेदनशीलताका कारण दुवै छिमेकी र शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताउँछन् । 

शीतयुद्धकालीन समयमा विश्व दुई ध्रुवमा विभाजित भएको बेलामा समेत नेपालले कुनै ध्रुवमा नलागी अर्थात् असंलग्नताको सिद्धान्त अंगीकार गरेर दुवै ध्रुवबाट सहयोग प्राप्त गरेको उदाहरण दिदैं थापा नेपालले आफ्नो संवेदनशीलता बुझिदिन सबै शक्ति राष्ट्रलाई आग्रह गर्न र नेपाल कसैको पक्षमा र कसैको विरुद्धमा प्रयोग नहुने आश्वस्त पार्नेगरी कूटनीति सञ्चालन गर्नुपर्ने धारणा राख्छन् । जसलाई उनले ‘कूटनीतिक होसियारी’  भनेका छन् । 

तर अहिले चीनलाई नेपालमा परिचालन हुन लागेको अमेरिकी अनुदान सहयोगको सम्बन्धमा कुनै संशय छ भने पनि त्यसको यथार्थ तथा नेपालको तर्फबाट चीन सरकारलाई आश्वस्त पार्ने कूटनीति सञ्चालनको अभावमा कतिपय द्विपक्षीय तहमा राजनीतिक पार्टीको स्तरबाट भएका संवादले समेत चीनलाई उक्साउने काम गरेको कतिपयको आशंका छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक खड्ग केसीले नेपालमा अमेरिका प्रोएक्टिभ (सक्रिय) भएपछि चीन रियाक्टिभ (प्रतिक्रियात्मक) भएको टिप्पणी गरेका छन् । यद्यपि, सरकारको कूटनीति सञ्चालनको अक्षमता साथै सीमा विवाद झिकेर चीनलाई भड्काउने लगायतका कामले पनि चीनले त्यसमा अन्य शक्तिको खेलको रूपमा बुझेको हुनसक्ने बताइन्छ । तर, नेपाल सरकारले सफल कूटनीतिका माध्यमबाट भारत, चीन, अमेरिका लगायत सबै मुलुकलाई नेपाल कुनै शक्तिको विरुद्ध एउटासँग पक्ष लागेर प्रयोग हुँदैन र नेपाल आफ्नो संवेदनशीलता प्रति सतर्क र सचेत छ भन्नेमा सम्बन्धित राष्ट्रका सरकाहरूलाई आश्वस्त पार्नसक्नुपर्ने उनीहरूको भनाई छ । 


Author

थप समाचार
x