दल

ओलीका चुनावी उट्पट्याङ

इकागज |
चैत १७, २०७८ बिहीबार १५:५५ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रुतिमधुर वक्ता हुन् । हँस्यौली, ठट्यौली, उखान टुक्कामा माहिर उनीबाट श्रोता र दर्शकले पनि केही–केही रमाइला कुरा सुन्न पाइन्छ भनेर अपेक्षा पनि गर्छन् । सुनाउनेमात्र हाेइन आजकाल उनी कतिपय नेताहरूकाे क्यारिकेचर गरेर पनि देखाउँछन् । प्रस्तुत छ, ओलीका केही चुनावकेन्द्रित उट्पट्याङहरूः 

१. हाम्रा घरका बिरालाहरू अहिले शेरबहादुरजीका भान्छामा छन् । 


२. शेरबहादुरजीका लागि ४–५ हजार रुपैयाँ वृद्धभत्ता ठूलो कुरा होइन भनेर लिनुभएन होला तर उहाँले विवेक प्रयोग गर्नुहुन्छ र भोटचाहिं एमालेमै हाल्नुहुन्छ । 

३. एउटा स्याल झुक्किएर नीलो  रङले भरिएको भाँडामा परेछ र पुरै नीलो भएर निस्केछ । जङ्गलमा नौलो नीलो रङको स्याल देखेर अरु स्यालहरू चकित परेछन् । उसले पनि फूर्ति लाउँदो रहेछ, म त राजा हुँ राजा, तिमीहरू जस्तो होइन । सबै अचम्मित भए, स्याल हो भनौं, फरक रङको छ, फूर्ति पनि लाउँछ । त्यसपछि यसकाे जाँच गर्नुपर्‍याे भनेर अरु स्यालहरू मिलेर मुन्टो मास्तिर तानेर हुँऊँऊँ गरेर कराएछन्, त्यो हुइँया सुनेर, नीलो स्याल पनि हुँऊँऊँ गरेर कराउन लागेछ । अनि देखिएन त फरक । योचाहिं मैले प्रचण्डलाई भनेको । 

प्रचण्डको अनुहार कस्तो देखिन्छ भनेर अभिनय गरेर देखाउँदै ओली

४. कथंकदाचित श्रीमान् मन परेन भने पनि श्रीमतीले गहना फुकालेर जिम्मा लगाएर मात्र छाड्ने चलन हुन्छ, माधव नेपाललाई हामीले लाइदिएको झुम्के बुलाकी फुकालेर जानुपर्दैन ? 

५. यो सरकार बालुवाको मूला जस्तो हो, जरा–सरा केही छैन । हल्लाउनु पनि पर्दैन, पुक्लुक्क उखेलिन्छ । हामी यसलाई तान्ने दिन खाेजिरहेका छाैं, यिनीहरू भागिरहेका छन् । 

६. चिम्पान्जी जब युवा हुन्छ, बलको उन्मादले भीड्नका लागि आउ भन्दै ड्याम, ड्याम, ड्याम छाति पिट्छ । बलको उन्मादले त्यस्तो हुन्छ, भीड्न अर्काे चिम्पान्जी भेट्याे भने भिडीहाल्छ । अहिलेका कतिपय माननीय मन्त्रीहरू पनि त्यस्तै छन् ।

७. यो गठबन्धनलाई चुनावमा पानी मुनि गएपनि छाडिँदैन । संसारभरका ज्योतिषलाई सोधे हुन्छ, एक वर्ष पनि छैन यो सरकारको आयु । 

८. चुनावमा कांग्रेसले औंला समात्न दिएन भने के हाल होला भनेर रोएर बसेका छन् कोही–कोही । 

९. खोला बढ्दा मानिसहरू एकले अर्कोको हात समातेर धेरैजसो किनारा र छेउतिर बसेर क्रमशः शुरुका मानिसले खोलाको गहिराई नाप्दै क्रमशः अघि बढेर अर्को किनारामा पुग्छन् । त्यसो गर्दा खोलो ठूलो रहेछ र खोलामा हेलिएको मान्छे बग्यो भने पनि किनारातिर बस्नेले तान्ने हुन्छ । अहिले निर्वाचनमा गठबन्धन त्यसैगरी खोलो तर्न खोज्दैछन् । तर चुनावमा यिनीहरू एमालेरूपी खोलामा बग्नेछन्, पार लाग्दैनन् । 

१०. लोकतन्त्रका सवालमा कांग्रेस र एमालेबीच कस्तो प्रतिस्पर्धा हुनुहुँदैन भने एउटाको छोरा राती बितेछ । गुन्द्रीमा पोको पारेर सत्गत् गर्न लैजाँदा लास छिमेकीको आँगनमा खसेछ । पत्तो भएनछ । गए लास गाड्यौं भनिठानेर फर्के । भोलिपल्ट सखारै छिमेकीले लास देखेछ । ए ! छोरो मारेर फाल्ने ? त्यसले मात्र छोरो मारेर फाल्न सक्छ भनेर उसले प्रतिशोधले आफ्नै छोरालाई ‘ए काले यता आइज’ भनेर बोलाएर छोरालाई चिर्पटले हानेर मारेछ र त्यो छिमेकीको आँगनमा लगेर छोरोको लास फालेछ । अनि तैंलेमात्र छोरो मारेर फाल्न सक्छस्, म सक्दिनँ ? भन्थ्यो रे ! कम्तीमा कांग्रेसले हामीसँग यस्तो प्रतिस्पर्धा नगरोस् । 

पर्यटनमन्त्री प्रेम आलेको अभिनय गरेर देखाउँदै ओली

११. धान रोप्दा सामा पलाउँछ, रुखमा ऐंजेरु पलाउँछ; अहिलेका केही पार्टीहरू त्यस्तै हुन् । 

१२. यसअघि हामीले पनि मिलाई–मिलाई चुनाव लडेका थियौं । पछि पार्टी एकीकरण गरेर बहुमत पुर्‍याएका थियौं । एउटा टेकोले नअड्ने भएपछि अर्को पनि टेको लगाएका थियौं । तर त्यो कमजोर र स्वार्थी टेको परेछ । यताबाट खट्याक्क भएर अर्कोपट्टी पुग्ने टेको परेछ । 

१३. एकैपटक हामीले देशभर ३९६ अस्पतालको शिलान्यास गर्‍यौं, विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ, हामीले दाबी नगरेर मात्र हो । गिनिज बुक त आधा हामीले गरेको कामले भरिन्छ । 

(संकलन : इकागज)


Author

थप समाचार
x