दल

स्थानीय तह निर्वाचन

चुनावको मुखमा ‘आयाराम–गयाराम’ प्रवृत्ति : पदीय लोभमा दल बदल्दै जनप्रतिनिधि

विश्लेषक नरेन्द्रजंग पिटर भन्छन् - राजनीति व्यवसाय भइसकेपछि वल्लो-पल्लो घर जानुले कुनै फरक रहँदैन

उपेन्द्र अर्याल |
बैशाख ७, २०७९ बुधबार १३:३४ बजे

काठमाडौं – स्थानीय निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिहरू दल बदलमा लागेका छन् । पार्टीले दोहोर्‍याउने सम्भावना नदेखेपछि जनप्रतिनिधिहरू दल–बदल्दै उम्मेदवार बन्ने होडमा छन् । यो दृश्यले भारतीय राजनीतिको विकृत ‘आयाराम–गयाराम’ प्रवृत्तिलाई पूर्णतः स्थापित गर्न खोजेको भान गराउँदैछ ।

जनकपुरधाम उपमहानगरपालिका–७ का अध्यक्ष जानकीराम साह मंगलबार मात्रै एमालेमा प्रवेश गरे । वडाध्यक्ष साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने आश्वासनसँगै दल बदलेका हुन् ।


उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका हुन् । उनी लोसपामा शरतसिंह भण्डारीनिकट थिए । डोल्पामा पनि सोमबार एमालेबाट निर्वाचित दुई गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरे ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधवकुमार नेपालले सही कदम चालेको उनको विज्ञप्तिमा उल्लेख छ । तर, एमाले विभाजन हुँदाका बखत निर्वाचन आयोगले दल रोज्न अवसर दिँदा तिनीहरू एमालेमै बसेका थिए ।

त्यसो त, चुनावमा दल बदल्न माहिर पात्रमध्ये पर्छन्, वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी । उनी पनि केही समयअघि एमाले प्रवेश गरिसकेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) छाडेर एमालेमा प्रवेश गरेका हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । 

उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । मेयर सरावगीले पार्टीभित्र समस्या उदांगो पार्दै एमालेमा गएका थिए । उनी मुख्यतः वीरगञ्जको मेयरमा दोहोरिन पार्टी परिवर्तन गरेका हुन् ।

मेयर सरावागीले जसपा जातिवादी भएकाले आफूले पार्टी छाडेको बताएका थिए । ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ,’ उनले भनेका थिए, ‘जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

उनले एमाले राष्ट्रिय पार्टी भएरै आफू एमालेमा गएको बताए । एमालेबाहेक अन्य पार्टीले देशको परिवर्तन गर्न नसक्ने जिकिरसमेत उनको थियो । सरावगीले दल बदल्नुका अनेकौँ कारण बताए पनि उनको ध्येय आफ्नो पद नगुमाउनु हो ।

एमालेमा आफ्नो उम्मेदवारी निश्चित देखेपछि उनले दल बदलेको सहजै अनुमान लगाउन सकिन्छ । एमालेले उनलाई वीरगञ्जको मेयरमा एकल उम्मेद्वारको रुपमा सिफरिस गरिसकेको छ । यस्तै, सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पनि एमाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति देउवाले पार्टीमा स्वागत गरेका थिए । 

यस्तै पर्साको पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारले  पनि नेपाली जनता दल त्याग्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका छन् । डोल्पा, मोरङ, कपिलवस्तु, कैलाली, अर्घाखाँची, कैलाली, बैतडी, सिन्धुपाल्चोक, बारा, रुपन्देही र पर्सा जिल्लाका थुप्रै जनप्रतिनिधिहरूले आफ्नो दल परिवर्तन गरेर नयाँ प्रवेश गरेका छन् । सबै भन्दा धेरै रुपन्देहीका पाँच पालिकाका प्रमुख र एउटा पालिकाको उपप्रमुखले आफ्नो दल बदलेका छन् ।

दल बदल्ने क्रम बाक्लिदै गर्दा उम्मेदवारी दिन झन् चर्कै हुने देखिन्छ । किनभने टिकट नपाउनासाथ पालिकाका जनप्रतिनिधिहरू दल बदलको धूनमै छन् । पार्टीका शीर्ष नेताले फूलमाला र अबिर लगाए उनीहरूलाई पार्टी प्रवेश गराइहरेका छन् । उनीहरू विचार र सिद्धान्तको आधारमा पार्टी छोडिरहेका छैनन् । सबैको ध्याउन्न आफ्नो पद कसरी जोगाउने भन्ने मात्रै छ । उनीहरू आफ्नो पार्टीले फेरि उम्मेदवार नबनाउने भएपछि दल बदलेर भए पनि फेरि उम्मेदवार बन्ने दाउमा छन् । कतिपय दलका उम्मेदवार त पार्टीले सिफारिस गरेता पनि नजितेने सम्भावना देखेर पनि दल बदलिरहेको देखिएको छ । 

राजनीतिक टिप्पणीकार नरेन्द्रजंग पिटर राजनीतिक व्यवसाय बनेकाले यस्तो प्रवृत्ति देखिएको बताउँछन् । ‘राजनीतिक व्यवसाय भइसकेपछि वल्लो र पल्लो घर जानु कुनै फरक रहँदैन । राजनीतिलाई व्यवसाय बनाएकाको कुनै सिद्धान्त र विचार हुँदैन,’ उनले भने, ‘एउटा जँडिया मान्छे कुन भट्टीमा गएर रक्सी पियो भन्ने कुराले के असर पर्छ र ?’

जनप्रतिनिधिले आफ्नो विचार र सिद्धान्त नभएकाले उनीहरू आफ्नो व्यक्तिगत भलाइका लागि मात्रै दल बदलिरहेको टिप्पणी पिटरको छ । पार्टीहरू नै एउटा ‘कर्पोरेट विजनेस हाउस’ जस्ता भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । ‘सिद्धान्तसँग जोडिएका मान्छेलाई पो अरुले केही भन्छ भन्ला भन्ने डर हुन्छ,’ उनले भने, ‘तर नेताहरु नाफा कमाउने जस्ता भए । उनीहरू नाफा कमाउन एउटा दलमा नभए अर्कोमा जाने लर्को लागेको छ ।’ 

अर्का राजनीतिक विश्लेषक डा. राजेश गौतम अवसरका लागि दल बदल्नेले सही रुपमा राजनीति नगरेको बताउँछन् । ‘दल बदल्ने नेताहरूको लहर चलिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘उनीहरू आफ्नो उद्देश्य मात्रै पुरा गर्न लागिपरेका छन् । उनीहरू राजनीतिक सिद्धान्तबाट प्रेरित छैनन् । व्यक्तिगत स्वार्थमै निर्भर छन् ।’
राजनीतिक सिद्धान्त भए उनीहरू वैचारिक हिसाबले आफ्नो दलमा रहिरहने उनले बताए ।

यस्ता जनप्रतिनिधिहरू सही रुपमा जनताको प्रतिनिधि नभएको उनको भनाइ छ । ‘यस्ता नेता खास जनताका प्रतिनिधि होइनन्, ‘उनले भने, ‘चुनाव जित्ने मात्रै ध्याउन्न  छ ।  स्रोत र साधनको दुरुपयोगका लागि मात्रै उनीहरू सत्तामा पुग्न चाहान्छन् ।’ जनताले पनि आफ्नो मत पैसामा विक्री गर्न भएकाले उनीहरूको प्रवृत्ति यस्तो भएको उनको भनाइ छ । यस्तो पदका लागि दल बदल्ने प्रवृत्तिले देशको परिवर्तन हुन नसक्ने उनी बताउँछन् ।
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x