दल

सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी तीव्र

दीपक उपाध्याय |
बैशाख ७, २०७९ बुधवार १५:२१ बजे

कैलाली – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरुले निर्वाचनको तयारी तीव्र पारेका छन्।

प्रदेशमा रहेका ८८ स्थानीय तहका लागि १ हजार १ सय ३५ मतदानस्थल र २ हजार १ सय ३ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले वैशाख ३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले भोलि अर्थात वैशाख ८ गते जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने गरी तयारी भएको बताए । उनले निर्वाचनका लागि आवश्यक सामाग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको बताए । 


सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र रहेको बताउँदै निमित्त प्रमुख भट्टले कैलालीका १३ पालिकामा ६ सय १९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने बताए । उनले कञ्चनपुरका ९ पालिकाका ३ सय ४१ मतदान केन्द्रमा एक हजार ८ सय बढी कर्मचारी खटिने जानकारी दिए । 

सुदूरपश्चिममा यो वर्ष १६ लाख ३२ हजार १ सय ५२ मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना तेस्रो लिङ्गि रहेका छन् । जसबाट प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुख १ सय ७६, वडा अध्यक्ष ७ सय ३४ र २ हजार ९ सय ३६ वडा सदस्यका लागि निर्वाचन हुने छ । जसबाट ३ हजार ८ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

निर्वाचन सुरक्षा
कैलाली जिल्लाभर  ५२ वटा मतदान स्थल अति संवेदनशील, संवेदनशील १ सय ३१ वटा  र सामान्य ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रत्येक पालिकामा बाहिरी घेरामा ३५ जनाको नेपाली सेनाको टोली रहने जोशीले जानकारी दिए ।

निर्वाचनलाई मध्येनजर गर्दै सुरक्षा व्यववस्था समेत चुस्तदुरुस्त पारिएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले नेपाली सेनाका साथै सुरक्षाका सबै चारै अंगहरु निर्वाचनमा खटिने बताए । उनले सशस्त्र प्रहरीको हकमा डीएसपीको कमाण्डमा तीनवटा मोबाइल टोली अन्तरगत २७ जना रहने बताए । यस्तै, जिल्लाभरि नेपाल प्रहरीको डीएसपीको कमाण्डमा ५ वटा टोली रहने र जसमा करिब १ सय ७५ जना रहने छन् । यो टोली आवश्यकता अनुसार परिचालन गरिने र मुख्य निर्वाचन कार्यालयमा ५÷५ जनाको टोली निर्वाचन अधिकृतको सुरक्षाको लागी खटाइएको जोशीले बताए । 

त्यस्तै, एसपीको कमाण्डमा १० जनाको टिम अनुगमनको लागी तयार पारिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

कैलाली जिल्लाको हकमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १२५ जना मतदाता रहेका छन् । भने यसमा नयाँ थपिने मतदातामा पुरुष ३२ हजार ५ सय ९५, महिला ३१ हजार ९ सय ४९ र अन्य ३ जना गरी ६४ हजार ५ सय ४७ जना थप भएको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रखुम प्रेमराज भट्टले जानकारी दिए । उनले कैलाली जिल्लाको हकमा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६ ओटा मतदान स्थल कायम गरिएको जानकारी दिए ।  
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x