दल

जनमोर्चा अध्यक्ष केसी भन्छन्– तालमेलमा समस्या आयो, त्यसबाट प्रतिगमनलाई मदत पुग्नेछ

इकागज |
बैशाख १२, २०७९ सोमबार ८:५४ बजे

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच  तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए । 

सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखा पर्‍यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ 


उनले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ ।

तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ । तैपनि गठबन्धन दलहरू बीचको तालमेलमा भने बाधा नपुर्‍याउने स्पष्ट पारेका छन् । 


Author

थप समाचार
x