दल

प्रचार र प्रतिबद्धताको पुरानै शैली

इकागज |
बैशाख १४, २०७९ बुधवार ९:४९ बजे

महोत्तरी - आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् । 

भङ्गाहा नगरपालिका–३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्छन्, 'सबैका नारा उही पुराना छन् ।' जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन् । भङ्गाहा–५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्छन्, 'चुनावी नारा पूरानै छन्, नारामा पत्यार र आकर्षण छैन ।'


संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । बर्दिबास–१४ का ७० वर्षीय खड्गबहादुर सिंह भन्छन्, “जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।'

मुुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपालि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेदवारले अब परम्परागत प्रचार शैली र प्रतिबद्धताको सट्टा  ठाउँ–ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ ।

सबैजसो मतदाता भेट्न घरघरै पुग्दैछन् । जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै १० नगरपालिकाका उपप्रमुखमा ३८ र पाँच गाउँपालिका उपाध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १३८ वडाका वडाध्यक्षका लागि ८८५, वडाका महिला सदस्यमा ५८३, दलित महिला सदस्यमा ५५४ र वडा सदस्यमा एक हजार १७३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए । कूल तीन लाख ३६ हजार ९५ मतदाताका लागि २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्रको व्यवस्था गरिएको छ । 


Author

थप समाचार
x