दल

आफ्नो रूप हेरी-हेरी आफैं दङ्ग प्रधानमन्त्री

पुष्पराज आचार्य |
चैत १२, २०७७ बिहीबार १७:३९ बजे

७०औं जन्मदिनमा प्रधानमन्त्रीलाई दिइएको उपहार । तस्वीरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तस्वीरमा खुबै रूचि राख्छन् । त्यसो त ओलीलाई आलोचकहरूले आत्म केन्द्रित नेता भन्छन् । त्यी आलोचना सबै मिथ्या छैनन्, घटनाक्रमले पुष्टी पनि गरेका छन् ।

अहिले हरेक सरकारी कार्यालयमा राष्ट्रपतिको अलावा प्रधानमन्त्रीको फोटो राखिन्छ । पहिले यो अभ्यास थिएन । गणतन्त्रपछि राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिको फोटो राख्ने चलन शुरु भएको हो । । 


राजतन्त्रमा भने राजा र रानीको तस्वीर सरकारी कार्यालयहरूमा झुण्ड्याउन अनिवार्य थियो । सरकारकै कानुनी सल्लाहकार भएपनि महान्याधिवक्ताको कार्यालयमा बाहेक अन्यत्र सबैतिर प्रधानमन्त्रीको तस्वीर नझुण्डिएका सरकारी कार्यालय शायदै होलान् । 

‘केपी शर्मा ओलीको तस्वीरमा ज्यादा प्रेम र रूचि भएकाले उनको मनोकांक्षा प्रतिबिम्बित हुँदै उनी शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदय भएपछि सबै सरकारी कार्यालयमा प्रधानमन्त्री ओलीका तस्वीर झुण्डिन थालेका हुन्,’ नेपाल सरकारका एकजना पूर्व सचिवले भने ।  

तर प्रधानमन्त्री ओली त्यतिमा रोकिएनन् । ओलीलाई आफ्नो तस्वीरमा ज्यादा रूचि र लगाव छ भन्ने जानेपछि उनलाई खुसी पार्न उनका समर्थक, कार्यकर्ताहरूले पनि फोटो नै उपहारका रूपमा प्रदान गर्न थाले । 

प्रधानमन्त्रीलाई भेट्न जाँदा उनको स्केच (रेखाकृति), पोट्रेट लिएर जाने चलन चल्दै गएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्र विवाद चुलिएर प्रधानमन्त्री ओली पक्ष र पुष्पकमल दाहाल पक्षले छुट्टाछुट्टै भेला र सभाहरू गर्दा नारायणहिटी अगाडि भएको प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सत्तापक्षका नेताहरू सम्मिलित सभामा प्रधानमन्त्री ओलीको कटआउट व्यापक प्रयोग भएको थियो । 

ओली पक्षका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले केपी शर्मा ओली ‘राष्ट्रनायक’ भएकाले उनका समर्थकले श्रद्धाले प्रधानमन्त्रीको तस्वीर र कटआउट बोकेर आएको बताएका थिए । सोही सभाको बीचमा प्रधानमन्त्री ओलीलाई चित्रकार सुभाषकुमार श्रेष्ठले बनाएको तस्वीर श्रेष्ठका तर्फबाट नेता महेश बस्नेतले हस्तान्तरण गरेका थिए । विराटनगरमा भएको ओली पक्षको सभामा पनि त्यस्ता कटआउटहरू राखिएका थिए । 

फागुन २३ को सर्वोच्च अदालतको फैसलाले पुरानै दलहरू नेकपा एमाले र माओवादी केन्द्र ब्युँतीएपछि त्यी पूर्ण कदका कटआउटहरू अहिले एमालेको जिल्ला–जिल्लाका पार्टी कार्यालयमा राखिएका छन् । 

‘कम्युनिजम भनेको त सामूहिक नेतृत्व प्रणाली हो तर यहाँ त्यसको विपरित देखिन्छ । शायद, समृद्धि आएर उहाँ त्यस्तो हुनुभएको होला ।’

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको विपक्षमा सर्वोच्च अदालतले फागुन ११ मा फैसला सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७०औं जन्मदिनका दिन उनका सल्लाहकार र समर्थकहरूले उपहार स्वरुप दिएको आफ्नै तस्वीर हेरेर दंग थिए । प्रधानमन्त्री आफ्नो तस्वीर हेरेर दंग थिए, उनका सल्लाहकार समर्थकहरू प्रधानमन्त्रीको हर्षित मुहार हरेर दङ्गदास थिए । त्यसै दिन सर्वोच्च अदालतको फैसलाले भने उनीहरूलाई धेरै लामो समय हर्षविभोर हुन नदिएर सम्हालिन बाध्य पारेको थियो । 

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका मेरो क्यानभास टिमका युवाहरूले पनि प्रधानमन्त्रीलाई उनैको पेन्टिङ हस्तान्तरण गरेका थिए । उनीहरूलाई प्रधानमन्त्रीले आफू नेपालको ललितकला क्षेत्रलाई उकास्न प्रतिवद्ध रहेको बताएर पठाए ।  

तस्वीरमात्र होइन प्रधानमन्त्री ओलीको बायोपिक ‘रातो सूर्य’ पनि निर्माण समपन्न हुने क्रममा छ । 

‘यो एउटा खराब संस्कार हो । गान्धीले कुनै डकुमेन्ट्री बनाउन लगाएको, किताब लेखाएको, पीएचडी लिएको देख्नुभयो र ? बीपी कोइरालाले कहिल्यै आफ्नो तस्वीर राख्न लगाउनुभएको सुनिएन’ राजनीतिक विश्लेषक एवं पत्रकार किशोर नेपाल भन्छन्, ‘कम्युनिजम भनेको त सामूहिक नेतृत्व प्रणाली हो तर यहाँ त्यसको विपरित देखिन्छ । शायद, समृद्धि आएर उहाँ त्यस्तो हुनुभएको होला ।’

मेरो क्यानभास टिमका युवाहरू प्रधानमन्त्रीलाई उनकै पेन्टीङ हस्तान्तरण गर्दै ।                                     तस्वीर साभारः रुटीन अफ नेपाल बन्द

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री ओली स्वेच्छाचारी चरित्रको र अरूमाथि प्रभुत्व जमाएर वा दमन गरेरै आफूलाई पार्टीबाट सर्वोच्च नेता घोषणा गराउन चाहान्छन् । त्यसकारण उनी आफ्ना आलोचकहरूलाई रूचाउँदैनन् । 

तस्वीर मात्र होइन, प्रधानमन्त्री ओलीको ज्ञानगुन र व्यक्तित्वका बारेमा चर्चा गर्ने उनलाई सर्वस्वीकार्य र सर्वोच्च नेताका रूपमा स्थापित गर्न ओली निकट नेताहरूको होडबाजी नै देखिन्छ । 

प्रधानमन्त्री आफ्नो तस्वीर हेरेर दंग थिए, उनका सल्लाहकार समर्थकहरू प्रधानमन्त्रीको हर्षित मुहार हरेर दङ्गदास थिए । त्यसै दिन सर्वोच्च अदालतको फैसलाले भने उनीहरूलाई धेरै लामो समय हर्षविभोर हुन नदिएर सम्हालिन बाध्य पारेको थियो । 

केही दिन अघि शिक्षा मन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठले विश्वविद्यालयको दिक्षान्त समारोहजस्तो प्राज्ञिक सभामा समेत प्रधानमन्त्रीको प्रशंशा गर्दै ‘केपी ओली राजनीतिको पेले (फुटबलर) जस्तो भएकाले कसैले उनलाई हटाउन नसक्ने’ चर्चित अभिव्यक्ति दिएका थिए । 

बिहीबार मात्रै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले ‘पीएचडी (विद्यावारिधि) गरेका व्यक्तिहरूमा भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली अधिक ज्ञानले सुसम्पन्न भएको’ बताएकी छिन् । 

कतिपयले प्रधानमन्त्री ओलीमा असीमित सत्तामोह र व्यक्तिकेन्द्रीत छविले यी गतिविधि भइरहेको बताउँछन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मकेन्द्रित र आत्मप्रशंशाको अधिक भोकले उनका सल्लाहकार र आसेपासेले ‘एम्परर्स न्यू क्लथ’ शैलीमा आम जनतामाझ प्रस्तुत गरेको टिप्पणी गरेका थिए । 

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिमा उदयबाट निकै प्रभावित भएको र मोदीको प्रचार शैलीको गहिरो छाप परेकाले उनले त्यसलाई अनुसरण गर्न खोजेको उनीसँग निकट रहेका नेताहरू बताउँछन् । 

के भन्छन् मनोविश्लेषक ? 

मनोविश्लेषक वासु आचार्य नेतृत्व शक्ति केन्द्रीत हुने भएकाले ओलीमा आफूलाई अरूभन्दा फरक देखाउने र प्रभुत्व कायम गर्ने सोच भएको बताउँछन् । ‘कसैले आर्जन गरेको शक्ति देखाउन चाहान्छन्, कसैले चाहाँदैनन्,’ उनी भन्छन्, ‘प्रधानमन्त्री ओली आफूलाई सर्वोच्च देखाएर अन्य प्रतिस्पर्धी र समकालीन नेताहरूभन्दा फरक देखाउने चाहानामा देखिन्छन् ।’

आफ्नै तस्वीरमा लगाव राख्नु उनको अवचेतन मस्तिष्कको आत्मकेन्द्रित स्वभाव र आत्मप्रशंशा प्रमुख कारण रहेको उनले बताए । 

‘राजनीतिमा जे देखिन्छ, त्यो बिक्छ । व्यवसायिक उत्पादन पनि त्यस्तै हुन्,’ उनले भने भने, ‘अहिले सूचना तथा सञ्चार प्रविधिको जमानामा यी सबै काम सजिलो छन् । ओलीले सूचना प्रविधिलाई प्रयोग गरेरै अरूमाथि प्रभुत्व जमाउन र सर्वव्यापी हुने चाहना राखेका हुन् ।’ आचार्यले नेपालमा अरू नेताहरूले शक्ति अभ्यास र यस्ता प्रचार शैली नअपनाएकाले ओलीको शैली यहाँको समाजलाई नौलो भएको हुनसक्ने बताए । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x