दल

ओलीले गरे किराती धर्मगुरु आत्मानन्दको प्रशंसा

इकागज |
बैशाख २१, २०७९ बुधबार २०:४१ बजे

फाइल फोटो

झापा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  एमाले र किरात धर्मगुरु आत्मानन्द लिङ्देनले रोजेको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एउटै भएको बताएका छन् । 

पश्चिम इलामको माङ्सेबुङस्थित किरात धार्मिकस्थल लारुम्बामा आज किरात धर्म साहित्य उत्थान सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले धर्मगुरु आत्मानन्द लिङ्देन र उनले धारणा गरेको विश्व शान्ति र मानव कल्याणको नीतिको प्रशंसा गरे । 


`किरात धर्मगुरुले जुन मानव कल्याणको विकास गर्दै हुनुहुन्छ, वास्तवमा  एमालेले पनि रोजेको बाटो त्यही हो`, उनले भने, `नेपाली नागरिकलाई हिंसाबाट मुक्ति दिलाएर मानव कल्याणका निम्ति एमालेले विगतदेखि नै चालेको कदम पनि त्यही हो ।`

एमाले अध्यक्ष ओलीले आजै संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुभाषचन्द्र नेम्बाङलाई साथमा लिएर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग लारुम्बास्थित गुरु आश्रममा भेट गरेका थिए । 

भेटपछि स्वागत कार्यक्रममा सहभागी भएको उनले धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको दाबी गरे । इलाम र पश्चिम झापामा धर्मगुरु लिङ्देनका धार्मिक अनुयायीको ठूलो सङ्ख्या रहेको छ ।

धर्मगुरु आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति एवम् किराती धर्मगुरु फाल्गुनन्दको सन्तान हुन् । उनी इलामको माङ्सेबुङस्थित लारुम्बामा आश्रममा बस्छन् । उक्त आश्रम लारुम्बा धार्मिकस्थलका रुपमा प्रसिद्ध छ ।

लारुम्बाको कार्यक्रम सकेर उनले चुनावी प्रचारका लागि दक्षिण इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा आयोजित एमालेको आमसभालाई सम्बोधन गरे । अध्यक्ष ओलीले आजै झापाको कनकाईमा चुनावी सभालाई सम्बोधन गरे । 

सुरुङ्गाको गणतन्त्र चौकमा भएको कार्यक्रममा उनले एमालेको कनकाई नगरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे । सोही कार्यक्रममा अध्यक्ष ओलीले एमाले मुलुकको विकासको नेतृत्व गर्ने जनताको प्रिय पार्टी भएको बताए । 
रासस


Author

थप समाचार
x