दल

ढोरपाटन बनाउने अर्यालका योजना : दुई हजारलाई रोजगारी, स्नातकसम्म निःशुल्क अध्ययन

इकागज |
बैशाख २२, २०७९ बिहीबार १०:१३ बजे

काठमाडौँ - बागलुङको ढोरपाटन नगरपालिकाका मेयरका उम्मेदवार चन्द्र अर्यालले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेको अर्यालले धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि आफू गुरुयोजनाको साथ आएको बताउँछन् । आफू निर्वाचित भए दुई हजार जनालाई रोजगारी दिने उनको योजना छ । नगरपालिकाको प्रशासकीय भवन पनि निर्माण गर्ने, नगरका १० जनालाई इन्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन गराउने, किसानलाई अनुदान दिनेलगायत उनका योजना छन् । 

यस्ता छन् उनका प्रतिबद्धता
प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् ।


पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना छ । नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने उनी बताउँछन् ।

‘धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि गुरुयोजनाका साथ आएको छु,’ उनी भन्छन्, ‘गुरुयोजनामा नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिने छ ।’

यस्तै ढोरपाटनको वनमा कुहिएर गएका काठ व्यवस्थापनका लागि मात्र चारवटा काठ उद्योग स्थापना गर्ने उनको योजना छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुई हजार जनालाई रोजगारी दिन सकिने उनी बताउँछन् ।

‘म निर्वाचित भएका नगरमा रहेका ९ वडाका हरेकमा १० देखि १२ जना गरी १ सय जनालाई रोजगारी उपलब्ध गराउने योजना छ,’ उनी भन्छन्, ‘अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन बनाउने योजना छ ।’

१० जनालाई इन्जिनियरिङ्ग र ५ जनालाई एमीबीबीएस अध्यापन
स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने उनको प्रतिबद्धता छ । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने उनी बताउँछन् ।

विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्णरुपमा पालना भएकोले त्यसलाई पूर्ण पालना गराउने उनी बताउँछन् । ‘परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्कलाई पूर्णतः हटाउने छु,’ उनी भन्छन्, ‘यस्तै, प्राविधिक शिक्षालाई जोड दिने, विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिने । हरेक वर्ष गरिब, विपन्न, जेहेन्दार, दलित र असहाय १० विद्यार्थीलाई इन्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइने छ । ’

नगरमै सुविधासम्पन्न अस्पताल
वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने उनको योजना छ । भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि बाहिर पाल्पा, पोखरा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यताको अन्य गर्नका लागि नगरमा उच्च स्तरको अस्पताल स्थापना अर्याल बताउँछन् ।

‘किसानलाई प्रतिलिटर दूधमा २० रुपैयाँ अनुदान, प्रतिकेजी मासुमा १० रुपैयाँ’
कृषि क्षेत्रमा नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको उनी बताउँछन् । किसानलाई यान्त्रिकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उनको भनाइ छ ।

‘यस्तै, नगरभित्र कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उसलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने,’ उनी भन्छन्, ‘यतिमात्र नभई नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई प्रतिकेजी १० रुपैयाँ अनुदान नगरपालिकाले दिनेछ ।’ कृषिलाई जीविकोपार्जनबाट व्यावसायिक तर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन नसकिने उनको बुझाइ छ ।

यो पनि

‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु’

 


Author

थप समाचार
x