दल

नवलपुरको चुनावी अभियानमा होमिए कांग्रेस नेता विनोद चौधरी

आठवटै पालिकामा गठबन्धनलाई विजयी बनाउने उद्घोष

इकागज |
बैशाख २५, २०७९ आइतबार १७:५९ बजे

नवलपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रतिनिधिलाई विजय गराउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा होमिएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउने घोषणाका साथ उनी निर्वाचन अभियानमा होमिएका हुन् ।

नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा सक्रिय छन् । जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमा समेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ति समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाइरहेका देखिन्छन् । नवलपुर जिल्लामा मध्य विन्दू कावासोती, देवचुली र गैडाकोट गरि चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिवेणी र वुलिङ्गटार गरि चार गाउँपालिका रहेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादुर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटी, मध्यबिन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैँडाकोटमा मदन भक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ ।

नेता चौधरीले आठवटै पालिकामा चारतारे झण्डा फहराउने र जिल्लाको विकासको गतिलाई तिब्र बनाउने आफ्नो लक्ष्य रहेको बताउदै आएका छन् । जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन कायम गरिएको छ । नवलपुरमा देशकै नमूना औद्योगिक पार्क, शाश्वतद्याम र उन्नती कल्चरल भिलेज जस्ता संस्थाहरू स्थापना गरेर आफुलाई राष्ट्रकै अब्बल उद्यमीमा स्थापित गरिसकेका चौधरी पहिलो पटक यसरी जनताको घरदैलोमा पुगेर जिल्लाको विकासको अभियानका बारेमा नेतृत्व लिइरहेका छन् ।

‘विनोद चौधरीलाई हामी अन्य नेताहरू जस्तो चुनावको बेलामा आकाशको तारा झारिदिने र त्यसपछि केही नगर्ने नेताका रुपमा लिएका छैनौँ । उहाँका विकासका प्रतिवद्धताले नवलपुर जिल्ला र हामी नवलपुरवासीलाई नै गौरवान्वित गराउनेछ भन्नेमा विश्वस्त छौँ’, देवचुली नगरपालिका वडा नम्बर ७ निवासी मतदाता हर्कबहादुर सोमै भन्छन्, ‘अहिलेको चुनाव हाम्रा लागि विशेष छ किनभने विनोद चौधरीजस्ता देशलाई नै ठूलो योगदान पुर्‍याएका नेता हाम्रो घरदैलोमा भोट माग्न आएका छन् । उनले हाम्रा लागि पक्कै पनि राम्रो काम गरेर देखाउनेछन् ।’

मध्य विन्दू नगरपालिका वडा नम्बर ३ का मतदाता शिवलाल श्रेष्ठ पनि आफ्नो जिल्लाको अहिलेको चुनावी अभियानलाई फरक ढंगले हेरिरहेका छन् । ‘नवलपुर जिल्ला वास्तवमा बत्ति मुनिको अँध्यारोमा रहदै आएको छ । देख्दा धेरै विकसित जस्तो देखिन्छ तर यो जिल्ला वास्तवमै अविकसित छ ।’, श्रेष्ठ भन्छन्, ‘देशका एकमात्र अर्बपति विनोद चौधरीलाई हामीले हाम्रा नेताको रुपमा पाएका छौँ । जहाँसम्म मैले उनलाई चिनेको छु, उनी आँटेको काम फत्ते नगरेसम्म आफु पनि सुत्दैनन् र अरुलाई पनि सुत्न दिँदैनन् । जिल्लाको विकासका लागि अहिले उनले जे भनिरहेका छन् मलाई विश्वास छ, गरेर देखाउनेछन् ।  नवलपुर जिल्लाले आफ्नो पुरानो पहिचान बदल्नेछ ।’

चौधरीको चुनावी अभियानलाई नियाल्दा उनी जिल्लामा चुनावी अभियान मात्रै चलाइरहेका छैनन्, उनले स्थानीय तहमा भोलि चुनिएर आउने जनप्रतिनिधिहरूलाई कसरी काम गर्नुपर्छ भनेर समेत उर्जा भरिरहेजस्तो देखिन्छ । शनिवार देवचुली नगरपालिकामा आयोजित सभामा बोल्दै उनले भनेका छन्, स्थानीय निकायका जनप्रतिनिधि दश माइलको रफ्तारमा हिँड्नुभयो भने म सय माईलको रफ्तारमा हिँड्नेछु ।’ उनको अभियानमा राजनीतिका लागि राजनीति र विपक्षीलाई गाली गलौजमा सिमित राष्ट्रिय राजनीतिको दृष्यलाई समेत नवलपुरमा परिवर्तन गरिदिएका छन् । उनका जतिपनि अभिव्यक्ति आएका छन्, ति सबै विकास निर्माण र जनताको जीवनस्तर परिवर्तनमा केन्द्रित छन् । विपक्षीहरूलाई होचो देखाएर आफु अग्लो देखिने राष्ट्रिय राजनीतिको दृष्य त्यहाँ देखिदैन ।

 चौधरीको यो अभियानले हालसम्म अन्य दलमा आवद्ध रहेका आम मतदाताहरूलाई निकै प्रभावित पारेको देखिएको छ । उनी जिल्लाका जुन ठाउँमा पुग्छन्, त्यहाँका मतदाता नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ ।

‘हामीलाई विकास चाहिएको छ त्यसका लागि विनोद चौधरीभन्दा ठूलो भरोसा अरु हुन सक्दैन’ शनिवार मात्रै एमालेबाट कांग्रेसमा प्रवेश गरेकी विमला सुनार भन्छिन्, ‘चौधरीले नवलपुरमा तीन हजार मानिसलाई रोजगारी दिएका छन् । र, त्यसमध्ये पनि आधाजसो महिला छन् । हाम्रो जीवनस्तर सुधारमा उनले जत्ति योगदान दिएका छन् त्यो अन्य कसैसँग पनि अपेक्षा गर्न सकिदैन । त्यसैले म लामो समयदेखिको एमालेसँगको आबद्धता छोडेर उहाँको हातबाट टिका लगाउन पाउँदा उत्साहित छु ।’  


Author

थप समाचार
x