दल

समयमै सूचना प्राप्त भए मात्रै समस्या समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री

इकागज |
बैशाख २५, २०७९ आइतबार २१:५९ बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् । 

राष्ट्रिय अनुसन्धान विभागको आज निरीक्षणपछि गृहमन्त्री खाणले सत्यतथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पु¥याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताए । 


नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो ।

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना तथा त्यसले पार्ने प्रभावको विश्लेषण गरी सरकारलाई उपलब्ध गराउँदै आएको र आगामी दिनमा योभन्दा प्रभावकारी सूचना र विश्लेषण दिने विश्वासमा सरकार रहेको बताए । । 

`विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक र प्रविधिबारे के कस्ता नयाँ सूचना के आएका छन्, त्यसको प्रभाव के पर्छ ? यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,` गृहमन्त्री खाणले भने ।  

राज्यलाई तत्काल सथ्यतथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अङ्ग भएको गृहमन्त्री खाणले बताए । 

अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए । 

लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वाभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुँने उनले बताए । रासस


Author

थप समाचार
x