दल

रेनुले बदलेको भरतपुर

अतिन आचार्य |
बैशाख २७, २०७९ मगलवार ११:१५ बजे

काठमाडौँ - भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित भएपछि विकासले गति लिएको छ । पाँच वर्षअघिको भरतपुर र अहिलेको भरतपुरमा धेरै फरक आएको छ । छोटो समयमै धेरै विकास गरेर रेनुले भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाइन् । रेनुले सडक पूर्वाधारको क्षेत्रमा महानगरको रूपरंग नै बदल्ने कोसिस गरिन् । उनी सफल पनि भइन् । अहिले भरतपुर महानगरको भित्री सडकहरू पनि कालोपत्रे भएको छ । यसले भरतपुरको मात्रै नभएर चितवनको स्वरूप नै बदलेको छ ।

भरतपुर २०७३ फागुन २२ गते सरकारले निर्णय गरेर फागुन २७ गते राजपत्रमा प्रकाशित गरी उपमहानगरपालिकाबाट भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र भएकाले उनले महानगरपालिका बनाउन सफल भए ।


उपमहानगरपालिका हुँदा भरतपुरमा खासै विकासको गति अगाडि बढेको थिएन । जब रेनु मेयरमा निर्वाचित भइन् त्यसपछि विकासले गति लिन थाल्यो । तर त्यतिबेला रेनुलाई भरतपुरमा काम गर्न सजिलो थिएन । विपक्षी पार्टीका जनप्रतिनिधिले रेनुलाई साथ दिएनन् । तर पनि भद्रगोल नै भद्रगोलबीच रेनुले आफ्‍नो पाँच वर्षे कार्यकालमा भरतपुरलाई देशकै नमूना सहर बनाइन् ।

२०७४ सालअघि भरतपुरका सडकको अवस्था नाजुक थियो । सबै धुलाम्‍मे थिए सडक । सडकको अवस्था राम्रैसँग बुझेकी रेनुले पहिलो प्राथमिकता सडकलाई राखिन् । रेनुको कार्यकालमा भरतपुरको ६२२ किलोमिटर सडक कालोपत्रे भयो । त्यस्तै ४५० किलोमिटर सडक स्तरीय ग्राभेल भयो । 

'नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङरोड आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ' रेनुले भनिन् '४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ । 

भरतपुर–मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सडक निर्माण भइसकेको छ । पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले  १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाएको महानगरले जनाएको छ ।  

त्यसो त राष्ट्रिय गौरवको आयोजना यसअघि भरतपुरमा थिएन । अहिले करिब ६ अर्ब रूपैयाँ लागतमा नारायणी नदी नियन्त्रणको काम धमाधम अगाडि बढिरहेको छ । देवघाटदेखि भरतपुर अन्तिमसम्म 'सिपबिच' मोडेलमा अघि बढेको छ । नारायणी नदी पनि पर्यटकीय क्षेत्र हो भनेर अगाडि बढाएको छ ।  त्यस्तै निर्माणाधीन रिङरोडलाई पूर्णता दिने तयारी भइरहेको छ । त्यसैगरी धुर्मुस सुन्तलीले बीचमै छाडेको अन्तर्राष्ट्रिय क्रिकेटरंगशालाको काम भरतपुर महानगरपालिकाले अगाडि बढाएको छ ।

त्यसो त भरतपुरमा  रेनु गरिबहरूका लागि वरदान बनेकी छन् । भरतपुर-२ का ४७ घरधुरी सुकुम्बासीले लालपूर्जा पाएका छन् । गाउँ-गाउँ र हरेक वडामा स्वास्थ्य चौकी छन् ।

भरतपुरका सामुदायिक विद्यालयमा विद्यार्थीहरूको चाप बढ्‍ने गरेको छ । सामुदायिक विद्यालयमा पढाइमा सुधार आएपछि निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्‍ने विद्यार्थीहरूको लाइन छ । रेनुको यो पाँच वर्षे कार्यकालमा सात हजार बढी विद्यार्थी निजी विद्यालय छाडेर सामुदायिकमा गएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुरले आफ्नै पाठ्‍यक्रम लागू गरेको छ । ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्धस्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको हो । भरतपुरले बजेटको झण्डै १५ प्रतिशत बजेट शिक्षामा खर्च गर्न सुरु गरेको जनाएको छ । भरतपुरको कूल साक्षरता दर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता महानगरले गरेको छ । भरतपुर दूध, मासु र मत्स्यमा आत्मनिर्भर छ ।

भरतपुरवासीलाई फेरि रेनुकै आश छ । रेनु भरतपुरको मात्रै नभएर देशकै एउटा सफल मेयरको रूपमा चिनिन्छिन् । नेपाली कांग्रेसबाट भरतपुर-८ मा वडाध्यक्ष जितेका दामोदर न्यौपाने भरतपुरमा विकासको गति रेनुले बढाएकाले फेरि रेनुले नै जित्नुपर्ने बताउँछन् । रेनुलाई जिताएर नमूना भरतपुर बनाउने उनको योजनालाई साकार बनाउनुपर्ने न्यौपानेको धारणा छ ।

'यहाँका नेताहरूलाई वर्षौसम्‍म सुकुम्बासीलाई झुक्काउँदै आएका थिए,' भरतपुर-२ आँपटारी सुकुम्बासी बस्तीकी रचना लामिछाने भन्छिन् 'रेनु दाहालले लालपूर्जा वितरण गरेर सुकुम्बासीलाई कहिल्यै नबिर्सिने गुन लगाउनुभयो ।' उनले यो ठाउँमा आफुले मात्रै नभएर सबैले भरतपुरमा फेरि रेनुकै आश गरेको बताइन् ।

जनताले मत दिएर जिताएपछि भरतपुर आफूले सकेको विकास गरेको रेनु बताउँछिन् । 'मैले आफ्‍नो ठाउँबाट कतव्य पालना गरेँ, 'अझै विकास र समृद्धिको ट्याक्रलाई गति दिन धेरै बाँकी छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x