जीवन चक्र

अबिच्युरी

तीर्थराज उपाध्यायः जसले नेपालमै सिए पढ्ने वातावरण मिलाए, लेखापरीक्षण व्यवसायलाई संस्थागत गरे

पुष्पराज आचार्य |
जेठ ४, २०७९ बुधबार १९:३० बजे

काठमाडाैँ- वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा दुर्घटनामा परेर निधन भयो । उनको अन्तिम संस्कार त्यहाँ बुधबार हुँदैछ । छोरीहरू अमेरिकामा रहेकाले उपाध्याय दम्पती त्यता आउजाउ भइरहन्थ्यो । कोभिड–१९ का कारण यात्रा प्रतिबन्धले लामो समय नेपालमा रोकिएका उनीहरू अमेरिका गएको धेरै समय पनि भएको थिएन । 

शुक्रबार वासिंगट डिसीकै एउटा ‘गिफ्ट शप’मा छोरी र श्रीमतीसहित सपिङ गरेर फर्कने क्रममा सिढींबाट चिप्लेर लडेका उपाध्यायको टाउकोमा लागेको चोटका कारण अस्पतालमा उपचारका क्रममा निधन भयो । नेपालमा चार्टर्ड एकाउन्टेन्सीको अध्यन/अध्यापन तथा यस पेसाको संस्थागत विकास गराउन उपाध्यायको अतुलनीय योगदान छ । 


नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) मा उनी कोमल चित्रकार पछि दोस्रो अध्यक्ष हुन् । मुम्बईमा चार्टर्ड एकाउन्टेन्सी पढेर सन् १९७० मा नेपाल फर्केपछि उनले दाजु चार्टर्ड एकाउन्टेन्ट कुवेर शर्मा (जो पछि हरियाली पार्टीका अध्यक्ष थिए)सँग मिलेर सन् १९७१ मा कुवेर एन्ड कम्पनीमा काम थालेका थिए । लगत्तै पछि उनले टीआर उपाध्याय एन्ड कम्पनी नाममा आफ्नै फर्म खोलेर व्यवसाय सुरु गरे । उक्त कम्पनीको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती समारोहको तयारी हुँदै थियो । ‘उपाध्याय अमेरिकाबाट फर्केपछि स्वर्णजयन्ती समारोह आयोजनाको तयारी थियो, दुर्भाग्य त्यस्तो घटना भयो,’ पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनीका प्रबन्ध साझेदार चार्टर्ड एकाउन्टेन्ट शशी सत्याल भन्छन् । 

आफैंले स्थापना गरेको फर्मको स्वर्ण जयन्ती मनाउने उनको धोको अधुरै रह्यो । अमेरिकाबाट नेपाल फर्कन नपाइ उपाध्याय ७४औं वसन्तमा त्यहीं अस्ताए । यद्यपि, नेपालको लेखापरीक्षण क्षेत्रलाई व्यवसायिक र संस्थागत बनाउने उनको प्रयासको सधैं कदर र उच्च सम्मान भइरहनेछ । 

उपाध्यायले नेपालमा लेखापरीक्षण व्यवसायलाई संस्थागत गर्न, नेपालमै लेखापरीक्षक उत्पादन गर्नका लागि अध्ययको प्रबन्ध गर्ने सवालमा महत्वपूर्ण योगदान गरेको आइक्यानका पूर्व अध्यक्ष महेश गुरागाईं स्मरण गर्छन् । एउटा फर्मका लागि ५० वर्षको यात्राले आफैंमा ठूलो इतिहास बोकेको हुन्छ, त्यसमा अविछिन्न खटिरहने व्यक्ति थिए, टीआर उपाध्याय । उमेरले ७४ पुगेपनि टीआर उपाध्यायलाई कुनै रोग थिएन, उनी सक्रिय जीवन बिताइरहेका थिए । 

नेपालमा गिनेचुनेका चार्टर्ड एकाउन्टेन्सी फर्महरूमा उपाध्यायको फर्मको नाम आउँछ । सन् १९५ देखि २००९ सम्म टीआर उपाध्याय एन्ड कम्पनी नेपालमा केपीएमजीको साझेदार रहेको थियो । अहिले पीकेएफ इन्टरनेशनलको साझेदार छ । 

उपाध्यायले त्यस्तो समयमा काम गरेका थिए, जतिबेला नेपालमा लेखापरीक्षण सम्बन्धी छुट्टै कानुनी व्यवस्था थिएन । लेखापरीक्षकका योग्यता र लेखापरीक्षण गराउनुपर्ने व्यवस्था कम्पनी ऐनमा तोकिएको थियो । कम्पनीको लेखापरीक्षणको लागि भारतबाट चार्टर्ड एकाउन्टेन्टहरू ल्याउने गरिन्थ्यो । लेखापरीक्षणका लागि अनुमति दिने काम उद्योग विभागले गर्थ्यो । 

उपाध्यायका दाजु कुवेर शर्मा र डाकुरनाथ शर्मा नेपालमा पहिलो सिए भएका थिए । त्यतिबेला सिए पढ्न भारत जाने चलन थियो । यसरी पढेर आएका सिएहरूको संख्या बढ्दै गएपछि सिएहरूलाई संगठीत गर्न सिए समाजको गठन भएको थियो र त्यसको केही समयपछि उक्त संस्थालाई औचारिक रूप दिन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) गठन भएको थियो । 

तीर्थराज उपाध्यायले आइक्यानको प्रकाशनमा उल्लेख गरे अनुसार, लेखा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाई व्यवस्थित गर्न चार्टर्ड एकाउन्टेन्ट संस्थाको आवश्यकता जबर्दस्त बन्दै गएको थियो । ‘त्यही बेला म महालेखापरीक्षक विभाग (हालको महालेखापरीक्षक कार्यालय)मा जागिरे थिएँ । मैले जागिर खानुअघि लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ लागू भइसकेको थियो,’ उनले अगाडि लेखेका छन्, ‘हाम्रो समाजका साथीहरूको सल्लाह अनुसार नै मैले सिए इन्ष्टिच्यूट खोल्नका लागि महालेखापरीक्षक विभागमा घच्घच्याउन थालें ।’ त्यसपछि उनैले सिए इन्स्टिच्यूटका लागि ऐनको मस्यौदा गर्ने जिम्मेवारी पाएका थिए । ऐन मस्यौदा भएपनि त्यो लामै समय थन्किएर बस्यो । 

त्यसपछि उनले स्व.  कोमलबहादुर चित्रकारसँग मिलेर चार्टर्ड एकाउन्टेन्ट संस्थालाई अघि बढाउन निरन्तर लविङ गरे । चित्रकार रजिष्टर्ड अडिटरलाई सहभागी नगराई सिएको मात्र संस्था बनाउने सोचमा थिए, त्यतिबेला जम्माजम्मी ४० जनामात्र सिए रहेकाले देशभरीको लेखापरीक्षण यति कम जनशक्तिबाट सम्भव छैन भन्ने  नीति निर्माण तहमा बुझाई थियो । अन्ततः रजिष्टर्ड अडिटरलाई समेत समावेश गरेर संस्था खोल्ने सहमति भएको थियो । ऐनको मस्यौदा तयार भए पनि त्यो अघि नबढ्ने हुँदाहुँदै उक्त संस्थाको बोर्ड (परिषद्)मा रजिष्टर्ड एकाउन्टेन्ट कि सिएको बढी प्रतिनिधित्व हुने समेत विषयमा भएका लविङले बल्लतल्ल २०५३ साल माघमा मात्र संसदबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था ऐन पारित भएको थियो । 

ऐन आएपछि २०५४ साउनमा चार्टर्ड एकाउन्टेन्टस् संस्था परिषद्को पहिलो चुनाज भएर कोमल चित्रकारको अध्यक्षतामा पहिलो परिषद् बनेको थियो । पहिलो परिषद्को पहिलो कार्यकालमा उपाध्यक्ष थिए, उपाध्याय । आइक्यान गठनपछि भारतको द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डियासँग प्रारम्भमा सहयोग लिइएको थियो । अधिकांश सिए भारतमा पढेका थिए, त्यो सम्पर्क सूत्रले पनि भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सहयोग प्राप्त भएको थियो । भारतबाट आएका प्रतिनिधिले प्रशासनिक संरचना त तयार गरिदिए तर नियमको अभावमा त्यसलाई अघि बढाउन सकिएको थिएन । आइक्यान परिषदभित्र मतभेद तीव्र भएर परिषदबाट नियम पारित हुन नसकिरहेको समयमा उपाध्याय आइक्यानमा अध्यक्ष बनेका थिए । नियम पारित गराउनेदेखि सिए अध्ययनका लागि पाठ्यक्रम तयार पार्ने लगायत सम्बन्धित पूर्वाधार विकास गर्ने काम उनकै समयमा भएको थियो । उनकै पहलमा अहिलेसम्म एघार हजारभन्दा धेरै विद्यार्थीले नेपालमै अध्ययनको अवसर प्राप्त गरेका छन्, जुन थपिने क्रम निरन्तर छ । त्यसयता नि नेपालको लेखाप्रणालीको स्तरोन्नतिका लागि उपाध्यायले काम गरिरहे । 

नेपालमा विश्वका प्रतिष्ठित फर्महरूसँग व्यावसायिक साझेदारी समेत गरेका उपाध्याय आफैमा अत्यन्त कुशल र व्यवसायिक व्यक्ति थिए । स्वर्गीय उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली !


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x