जीवन चक्र

अर्जुनको उपलब्धि

नवराज पनेरु |
माघ ९, २०७७ शुक्रबार १६:५१ बजे

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–६ का अर्जुन रावल जन्मजात दृष्टिविहिन । उनले संसार नियाल्न पाएनन् । २०५२ सालमा दृष्टिविहिन छोरा जन्मिएपछि रावलका आमाबुवासमेत समाजबाट हेपिए । समाजले रावल दम्पतिको जीवनमा बोझ थपिएको आभाश दिलायो । तर अर्जुन बोझ बनेनन्, नमूना बनेर देखाइदिए । 

आमावुवाले अर्जुनलाई धनगढीको पञ्चोदय माविमा भर्ना गरिदिए । दृष्टिविहिनहरूकै लागि खोलिएको जीवनज्योती छात्रवासमा बस्दै पढ्न थाले । ब्रेनलिपी माध्यमबाट अध्ययन गर्थे । २०६९ सालमा एसएलसी उत्तिर्ण गरेका अर्जुन धनगढीकै ऐश्वर्य विद्या निकेतनमा ११ मा भर्ना भए, शिक्षा संकायमा अङग्रेजी विषय लिएर । रावलले ११ र १२ कक्षामा संकाय टप गरे । उनी सम्झिन्छन्, ‘सो समयमा मेरो सबै ध्यान पढाइमा थियो । जीवनमा केही बन्ने लक्ष्य थियो । जस्ले मलाई सफल बनायो ।’


स्‍नातक पढाइका लागि उनी कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । उनको रोजाइमा पर्‍याे मानविकी संकाय । त्यस्मा पनि राजनीति शास्त्र र अङग्रेजी । स्नातक उत्तिर्ण त गरे तर पहिले जस्तै ‘टपर’ भने हुन सकेनन् । स्‍नातक अध्ययनकै क्रममा धेरै संघसंस्थामा सक्रिय भइसकेका रावल भन्छन्, ‘सामाजिक कार्यमा पनि समय बिताउन थालेपछि अध्ययनमा पहिलेको जस्तै समय पनि दिन सकिएन । टपर पनि बन्न सकिएन ।’ 

स्‍नातक उत्तिर्ण गरिसकेपछि उनले २०७३ सालमा पहिलो पटक शिक्षक सेवा आयोगले लिएको निमावि (अङग्रेजी) मा परीक्षा दिए । लिखितमा पहिलो पटक नै नाम निस्कियो तर उनी अन्तरवार्तामा असफल भए । दोस्रो पटक २०७५ सालको असोजमा फेरि आयोगले निमाविमा अङग्रजी विषयको परीक्षा लियो । लिखितमा नाम निकाले । २०७६ साल साउनको तेस्रो साता अन्तरवार्ताको नतिजा आयो र उनको कठोर संघर्षले रंग ल्यायो । उनी सरकारी जागिरे भए । 

यो सफलताले उनको परिवार मात्रै होइन धेरै फरक क्षमता भएका व्यक्तिहरूमा पनि खुसियाली छायो । दृष्टिविहिनले जीवनमा केही पनि गर्न सक्दैनन भन्‍ने मानसिकतालाई गलत सावित गरिदिए । जन्मिदा कुरा काट्ने छिमेकी बधाई दिन थाले । अहिले उनी हिमालय मावि टीकापुरमा अध्यापन गराउँदै आएका छन् । त्रिभुवन विश्व विद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिमा स्नातकोत्तर गरिरहेका छन् । 

पेशाले शिक्षक अर्जुन समाजसेवा र राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्यस्को छनक उनले ११ वर्षकै उमेरमा देखाइसकेका थिए । कुरा थियो, २०६२/०६३ को जनआन्दोलनको । अर्जुन ११ वर्षको बालक, त्यसैमाथि दृष्टिविहिन । लम्कीमा आन्दोलन चर्किदै गर्दा गणतन्त्र स्थापनाका लागि सोही आन्दोलदनमा होमिएका थिए रावल पनि । 

आन्दोलनमा उनको उपस्थिति धेरैलाई जिल्ल पार्ने खालको थियो । तीन  वर्षअघि मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय भइसक्दासमेत घरजग्गा धनीले सडकमा रहेका संरचना भत्काउनका लागि अटेरी गरे । सोही समयमा रावलकै नेतृत्वमा धनगढी युवा दवाव समूह गठन भयो र संरचना भत्काउनका लागि आन्दोलनका कार्यक्रम अगाडि बढाइयो । त्यसैको आडमा संरचना भत्काउँदै सडक निर्माणको कार्य अगाडि बढ्यो र अहिले अन्तिम चरणको निर्माण जारी छ । उनले नेत्रहिन युवा संंघ सुदूरपश्चिमको महासचिव र कैलाली जिल्ला अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।


Author

थप समाचार
x