जीवन चक्र

पञ्‍च भएर पनि उनी प्रजातान्त्रिक थिए

‘हालका जनप्रतिनिधिहरू त मान्‍छेको रगत पिएका बाघ जस्ता’

लिलाराज खतिवडा |
माघ १८, २०७७ ११:१४ बजे

उर्लाबारीको भृकुटी मोडेल एकाडेमीमा कक्षा १२ पढ्ने अनुराग ओलीलाई प्रश्न गरियो, ‘उपेन्द्र थापा को हुन् ?' उनले जवाफ दिए, ‘नाम त कताकता सुने जस्तो लाग्छ । तर डिटेलमा थाहा छैन ।’ अनि उनलाई पुनः सोधियो, ‘घरमा सबैभन्दा बुज्रुग को हुनुहुन्‍छ ?’

अनुरागले बताए, ‘हजुरबुबा हुनुहुन्‍छ ।’त्यसपछि उनलाई एउटा होमवर्क दिइयो, ‘त्यसो भए घर गएर आज हजुरबुबालाई उपेन्द्र थापा को हुन् भनेर सोध्नू । र, उहाँको जवाफ आफ्नो मोबाइलमा रेकर्ड गरेर ल्याउनू । सकिन्‍छ ?’ उनले सकारात्मक जवाफ दिए । नभन्दै भोलिपल्ट उनले बाघखोर छलफल चौतारीमा आए, अनि एउटा अडियो सुनाए ।


ADVERTISEMENT

उनका हजुरबुबा ७७ वर्षीय धनप्रसाद ओलीको जवाफ थियो, ‘उपेन्द्र थापा उर्लाबारी गाउँ पञ्चायतका संस्थापक प्रधानपञ्च हुनुहुन्थ्यो । निकै लोकप्रिय, मिलनसार र सहयोगी हुनुहुन्थ्यो ।’ त्यसपछि अडियोमा अनुरागले आफ्ना हजुरबुबालाई प्रश्न सोधेको सुनियो, ‘अहिलेका जनप्रतिनिधि र उपेन्द्र थापामा के फरक पाउनुहुन्‍छ ?’ हजुरबुबाको जवाफ आयो, ‘तुलना नै हुन सक्दैन । त्यस्ता मिलनसार जनप्रतिनिधि भेट्दा मन प्रफुल्ल हुने गर्थ्यो । तर अहिलेकालाई भरिसक्य नभेटौँ जस्तो लाग्छ । हालका जनप्रतिनिधिहरू त मान्‍छेको रगत पिएका बाघ जस्ता छन् ।’
   
यसबीच अन्य केही युवालाई पनि उपेन्द्र थापाबारे प्रश्न सोधिएको थियो । तर उनीहरूले यसबारे अनभिज्ञता प्रकट गर्दै खासै चासो देखाएनन् । तर पत्रकारिता सिक्न तम्सिएका अनुराग ओलीले उर्लाबारीको इतिहास खोतल्ने जाँगर चलाए । निश्चय नै नयाँ पुस्ताले आफ्नो स्थानको इतिहास थाहा पाउनु अति जरुरी हुन्‍छ । आफ्नै इतिहासको हेक्का नराख्‍ने पुस्ता कमजोर हुँदै जान्‍छ । भनिन्‍छ नि, टुप्पाबाट पलाएकाहरू केवल टपरटुइँया हुने गर्छन् ।

घरैमा थन्किएका ज्येष्ठ नागरिकहरूलाई आजकल कतिले समय दिन्‍छन् होला ? के बुढापाकाका कुराहरूलाई युवापुस्ताले नियमित रुपमा मोबाइलमा रेकर्ड गरेर अर्काइभ गरे हुँदैन ? के गर्दैछ आजको पुस्ता आफ्नो मोबाइलमा ? युवा पुस्ताको मोबाइलमा आज सिर्जना छ कि विध्वंश ? यो प्रश्नको मनन आज प्रत्येक अभिभावकले गर्ने बेला आएको छ ।

उर्लाबारीको नयाँ पुस्ताले आफ्ना धरोहरहरू बिर्सिँदै जानु निश्चय नै दुःखद हो । जसले उर्लाबारी बनाए उनीहरू नै आज कताकता यहाँ ओझेलमा परेझैँ लाग्छन् । तर नयाँ आएकाहरूले अग्ला घर ठड्याए पनि रैथानेका जरा भने जहाँ पनि जमिनमा निकै तलसम्म भासिएका प्रतित हुन्‍छन् । उर्लाबारीलाई पहिचान दिलाउन अहोरात्र राजनीतिमा होमिएका यहाँका संस्थापक प्रधानपञ्च स्व. उपेन्द्र थापाबारे यहाँका कति नयाँ पुस्तालाई थाहा छ ? यहाँका रैथानेहरूलाई हिजोआज आफ्नै इतिहास खोतल्ने फुर्सद छ कि छैन ?

उर्लाबारीलाई तत्कालीन मधुमल्ला गाउँ पञ्चायतका २ वटा वडाहरूबाट विस्तार गरेर अलग्गै गाउँ पञ्चायत बनाउने स्व. थापाको योगदानलाई केलाउने हो भने, मोटो पुस्तक तयार हुन सक्छ । २०३५ सालमा एउटा स्वायत्त गाउँ पञ्चायतका रुपमा अस्तित्वमा आउनुपूर्व उर्लाबारी मधुमल्लाको ९ र ५ वडा थियो । वडा नम्बर ९ का अध्यक्ष मानबहादुर डाँगी थिए भने ५ का स्व. उपेन्द्र थापा । उर्लाबारीलाई स्वायत्त गाउँ पञ्चायत बनाएर पहिचानमा ल्याउने प्रमुख श्रेय माथिका दुई स्थानीय धरोहरहरूलाई जान्‍छ ।

उनी त्यसपछि तीन कार्यकाल लगातार प्रधानपञ्च भए । उनी जनताको अनुहार हेरेर होइन जनताका समस्याहरू हेरेर व्यवहार गर्थे ।

तेह्रथुमको फाक्चामारा २ बतासेमा १९९५ भदौ २८ गते जन्मिएका स्व. थापा यस्ता लोकप्रिय नेता थिए कि उनी त्यसपछि तीन कार्यकाल लगातार प्रधानपञ्च भए । उनी जनताको अनुहार हेरेर होइन जनताका समस्याहरू हेरेर व्यवहार गर्थे । सम्पन्‍नका घरमा भन्दा बिपन्‍नका झुपडीमा पाहुना जान रुचाउँथे । किनभने बिपन्‍न परिवारका उनी पनि अत्यधिक संघर्ष गरेर आएका थिए ।

पैदल हिँड्थे । सदा स्वच्छ र हँसमुख देखिन्थे । विनम्र थिए । सबैका कुराहरू सुन्थे । ठूलासाना सबैलाई मित्रवत र आदरसाथ व्यवहार गर्दथे । कसैलाई हियाएर वा होच्याएर बोल्दैन थिए । सबैको भलो होस् भन्‍ने चाहना राख्थे । उनका बुबाको नाम शेरबहादुर थापा थियो भने आमा थिइन् नरमाया । उनी ८ भाइमध्येका साहिँला थिए । युवा अवस्थामै घर छाडेर मधेश झरेका उपेन्द्र थापाले निकै संघर्ष गरेपछि मात्रै प्रधानपञ्च भएका थिए । पदमा पुगेर पनि उनले कहिल्यै आफ्नो रंग फेरेनन् । उनी समाज सेवा गर्न राजनीति गर्दथे । र, आजीवन उनले आफूमा त्यो तत्व कायम राखे ।

उपप्रधानपञ्च भएर स्व. उपेन्द्र थापासँग सहकार्य गरेका भूपाल थापा खड्ग भन्‍छन्, ‘कामको मामिलामा उहाँ हमेशा बेदाग रहनु भयो । सबै तप्काका मान्‍छेहरूसँग मिलेर जान सक्ने खुबीकै कारण उर्लाबारीका जनताले उहाँलाई पटक-पटक भोट दिएर जिताएका थिए ।’ तर विडम्बना के छ भने त्यस्ता पुराना नेतृत्वका ऐतिहासिक कामहरू यहाँका मिडियाका पानामा समेटिँदैनन् । पुराना यथार्थहरूको स्मरण भन्दा पनि बिर्सिने परिपाटी शुरु हुनु निश्चय नै दुःखको कुरा हो ।

यहाँका मिडियाहरूलाई स्थानीय धरोहर र खजाना उधिन्‍ने भन्दा पनि अपराधका समाचार तयार गर्न र सत्ताको माखो हुनैमा फाइदा रहेछ । धरोहर उपर अनुसन्धान गर्न कसैले उनीहरूलाई रकम दिँदैन । पत्रकारिता यहाँ केवल पर्चाकारिता हुन पुगेको छ ।

मंगलवारेको सुनपकुवा माध्यमिक विध्यालयका पूर्वशिक्षक नरेन्द्र ढुंगाना स्व. उपेन्द्र थापाबारे आफ्नो संस्मरण यसरी सुनाउँछन्, ‘मैले भुल्न नसकेको उहाँको प्रमुख गुण के थियो भने धनी वा गरिब, मजदूर वा मालिक सबैलाई उहाँ समान व्यवहार गर्नुहुन्थ्यो । कसैसँग बैरभाव र पूर्वाग्रह नराखी काम गर्ने उहाँको आदत थियो । आफ्नो प्रयासले अरुको भलो हुन्‍छ भने परेका बेला आफैँलाई जमानी राखेर पनि कमजोर र निमुखाहरूलाई सहयोग गर्ने उहाँको गुण थियो ।’

नरेन्द्र सरका अनुसार त्यतिबेलाका पञ्चायत विरोधी आन्दोलन गर्नेहरूलाई स्व. थापाले कहिल्यै दुःख दिएनन् । पञ्चायत विरोधीहरूसँग पनि उत्तिकै मित्रता कायम राख्‍न सक्नु स्व. थापाको खासियत नै थियो । उर्लाबारी क्याम्पसको स्थापनामा स्व. थापाको अतुलनीय योगदान थियो भने उनले वडावडामा प्राथमिक विद्यालय खोल्ने कार्यमा सफलता हासिल गरेका थिए ।

नरेन्द्र सरका अनुसार तीस र चालिसको दशकमा यहाँका सिरुझार, भानुटोल, सुनझोडा र थापाडाँगी जस्ता पछि परेका वडाहरूमा स्व. थापाकै पहलमा भटाभट प्राथमिक विध्यालयहरू खोलिएका थिए । स्व. थापा नगर विकास समितिका अध्यक्षसमेत थिए । उनले उर्लाबारी नगरपालिकाको पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

धार्मिक प्रबृत्तिका स्व. थापा आफूभन्दा ठूलालाई हमेशा आदरसम्मान गर्दथे भने स्यानासँग पनि उनी उस्तै सम्मान र प्रेमभावमा कुरा गर्ने गर्दथे । मंगलबारेकी बुढीबजू मुनादेवी खतिवडालाई उनी गुरुआमा भनेर खुट्टैमा ढोग्थे । बुढीबजूकी जेठी छोरी शुशिला सम्झिन्‍छिन्, ‘स्व. उपेन्द्र थापा निकै धार्मिक हुनुहुन्थ्यो । निकै संघर्ष गरेर आएकाले होला, अरुको दुःख देख्‍न सक्नुहुन्‍न थियो ।'

स्कूलडाँडाका ब्यवसायी केशव सुवेदी आफ्नो स्मरण सुनाउँछन्, ‘स्व. उपेन्द्र थापा त्यसै यहाँ लोकप्रिय भएका होइनन् । लोकप्रिय हुनुमा उहाँको मृदुभाषी र सदा प्रसन्‍न रहने स्वाभावका साथै सबैप्रति गर्ने समान व्यवहार थियो । समग्रमा भन्दा उहाँ एक सफल जनप्रतिनिधि हुनुहुन्थ्यो ।’

स्व. थापासँग लामो समय सहकार्य गरेका पूर्व खेलाडी प्रेम डाँगी सम्‍झिन्‍छन्, ‘स्व. उपेन्द्र थापा जुन दिन कुनै असहायलाई मद्दत गरेर फर्किनुहुन्थ्यो, त्यो बेला उहाँको चेहरामा म अथाह खुशी र सन्तुष्टि भेट्ने गर्दथेँ । उहाँको कामकर्तब्य नजिकबाट हेरेकाले म के दाबी गर्छु भने उर्लाबारीमा उपेन्द्र थापा जस्तो प्रजातान्त्रिक जनप्रतिनिधि जन्मिएको छैन । हालका जनप्रतिनिधि त कमाऊ धन्दा गर्न र आफ्नो अपराध लुकाउन राजनीतिमा आएका छन् ।’

त्यतिबेला मुस्तफा भन्‍ने अरकस्यालाई केही पटक बनजाँचेले गिरफ्तार गरेको थियो । स्व. थापाले उसलाई पटक-पटक जमानी दिएर छुटाएका थिए । गाउँलेहरूका अनुसार बाँचुन्जेल मुस्तफाले स्व. थापाको गुणगान गाइरहन्थ्यो । मुस्तफा मात्रै होइन अरु कैयौँ मजदूर र निमुखाहरूका भगवान थिए स्व. थापा ।

भएको एउटा पुस्तकालय पनि जोगाउन नसकेको उर्लाबारीलाई यदाकदा लाग्‍ने एउटा आरोप छ, उर्लाबारी बौद्धिक हिसाबले पछाडि परेको छ । उर्लाबारीमा बेलाबेला लाग्‍ने रमाइलो मेला बरु भीडले गुल्जार हुन सक्छ । तर यहाँ पुस्तक मेला लागेको थाहा छैन । पहिले यहाँ नियमित कवि गोष्ठीहरू हुन्थे । ख्यातिप्राप्त साहित्यकारहरू आमन्त्रित हुन्थे । यहाँबाट केही साहित्यिक पत्रपत्रिका पनि निस्किन्थे । तर यस्ता कुरा केवल किंवदन्ती बन्दैछन् । मावा र बक्राहा खोलाका बगरहरू गैह्रकानुनी तवरले दोहन भए जस्तै यहाँको नयाँ पुस्ताको मनमस्तिष्क पनि नराम्रोसँग दोहन भए झैँ लाग्छ ।

उपेन्द्र थापा मलाई हेरेर हाँसे मात्रै । उनले त्यो मण्डले साथीको कुराप्रति चासो नै दिएनन ।

खेलकूदका क्षेत्रमा पनि अब्बल रहेको उर्लाबारी हिजोआज बढी जसो ठेक्कापट्टा र जुवातासमै ब्यस्त भएझैँ लाग्छ । युवा पुस्ता कुशल नेतृत्वको अभावमा अल्मलिरहेको भेटिन्‍छन् । बरगाछीका एक युवा भन्‍छन्, ‘यहाँ सही मान्‍छे गलत ठाउँमा छ र गलत मान्‍छे सही ठाउँमा छ । गाउँगाउँ वा टोलटोलमा सिंहदरबार प्रकट भएर अनौठो र कहिल्यै नदेखिएका नाटक, नौटंकी र चटकहरू देखिन थालेका छन् । त्यसैले मान्‍छेहरू भन्‍न बाध्य छन्- जे जस्तो भए पनि नेताहरू त पहिल्यैका ठिक थिए ।’

पहिलेका भनेका कहिलेका ? पञ्चायतकालका ? त्यसो हो भने यहाँ लेख्‍न मन लाग्छ, पञ्चायतकालमा पनि सबै नेता त कहाँ ठीक थिए र ? अनि अहिले पनि सबै त कहाँ बेठीक छन् र ? तर जब ठीक भन्दा बेठीकहरूको संख्या बढ्छ तब समाजमा समस्याको पारो उम्लिन थाल्छ । पहिले पनि त्यही भएको हो । अनि पनि त्यही भइरहेको छ । २०४६ सालमा प्रजातन्त्र प्राप्तिको राजनीतिक उत्सव मनाउने क्रममा स्व. गिरिजाप्रसाद कोइरालाले टुँडिखेलमा भनेका थिए, ‘यो पञ्चको पनि जित हो ।’ 

त्यसो भनिरहँदा कट्टरपन्थीहरूले कोइरालालाई हुटिंग गरेर थप बोल्नै दिएन । अनि गणेशमान सिंहले भीडलाई थामथुम पार्नु परेको थियो । राजनीतिमा गिरिजाप्रसाद कोइरालामा जस्तो क्षमाशिलता यताका अन्य नेताहरूमा बिरलै देख्‍न पाइन्‍छ । तर व्यवहारमा त्यसो भएन । कांग्रेस र कम्युनिस्टका मान्‍छेहरूले पूर्व पञ्चहरूलाई खप्‍नखान दिएनन् । बिगतमा राम्रै काम गरेका पञ्चहरूसमेत नवआगन्तुकहरूको अवहेलनाको सिकार हुन पुगे । फलस्वरुप पूर्व पञ्चहरू बढीजसो राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर ओत लागे । कति ओझेलमा परे । कति त नयाँ व्यवस्थाका मतियारको जालझेलको सिकार पनि हुन पुगे । 

मुलुकमा व्यवस्था फेरिन सक्छ । तर त्यसो भन्दैमा पुरानो व्यवस्थाका मानिसहरूलाई घृणा गर्नु मुनासिव र मानवीय हुँदैन । प्रजातन्त्रमा सबैलाई सुधारोन्मुख भएर अघि बढ्ने समान अवसर छ । तर यस्तो लाग्छ, नेपालका गाउँगाउँमा प्रजातन्त्र आएन, आउँदै आएन, अझै आएको छैन ।

प्रजातन्त्र कमाइ खान राजनीतिमा घुसेका नेताका भाषण, अखवारका पाना र ‘एलाइटहरूको कक्टेल’मा मात्रै सीमित भएपछि नेपालमा एकथरि मान्‍छेहरू ओझेलमा पर्दै गए भने अर्काथरी राँगे मोजमस्ती र रजगजले चम्किँदै गए । प्रजातन्त्र प्राप्त भएको आज ३० वर्ष बितिसक्दा त यस्तो लाग्छ कि बर्बाद हुनलाई अब मुलुकमा कतै केही बाँकी छ होला र ? 

त्यसैले आज वर्तमान शासकहरूका खिलाफ आजकल मूर्दावादका नाराहरू लागिरहेका छन् । राजनीतिक चक्र फनफनी घुमिरहेको छ । करीब तीन वर्षअघि केही स्थानीय सञ्चारकर्मीलाई मैले स्व. उपेन्द्र थापाबारे प्रोफाइल लेख्‍न सुझाएको थिएँ । तर कसैले टेरपुछार लगाएनन् । कतिपयले त त्यस्तो नाम पहिलो पटक सुन्दै थिए । उर्लाबारीमा नयाँ आएका कतिपयले यहाँको इतिहासलाई छारो पनि हालिरहेका छन् । ठगेर खाइरहेका छन् । सब कुरा जगजाहेर हुँदाहुँदै पनि बालबच्चा पाल्ने बहानामा उनीहरू एउटा अति नै सम्मानित पेशाको हुर्मत काढिरहेका छन् । 

स्व. उपेन्द्र थापाले उर्लाबारीमा शिक्षाको विकासमा अभुतपूर्व योगदान दिएका छन् । स्कूल कलेज खोल्नु उनका प्रमुख प्राथमिकता हुन्थ्यो । उनको पालामा मुलुकमा प्रजातन्त्रको क्रान्ति उम्लिरहेको थियो । त्यस्तो बेला यहाँ पनि भूमिगत आन्दोलनहरू सक्रिय थिए । आफू इतर विचारका ब्यक्तिहरूसँग पनि विना कुनै पूर्वाग्रह र पक्षपातबेगर काम गर्न सक्ने खुबी भएका नेतामा यहाँ स्व. थापालाई स्मरण गर्न रुचाउने बुढापाका अझै भेटिन्‍छन् ।

स्व. थापासँग लामो सहकार्य गरेका आइतबारेका बहुआयामी व्यक्तित्‍व प्रेम डाँगी स्मरण गर्छन्, ‘मैले जानेका उपेन्द्र थापा एक करिस्मेटिक नेता थिए । उनको सदावहार मुस्कान र उनका कामहरू एक अर्काका पूरक थिए । म त कतिसम्म भन्‍छु भने, ‘उपेन्द्र थापा अघि पनि यहाँ कोही कुशल नेता थिएनन् । र उनी पछि यहाँ अर्को नेता जन्मिन सकेको छैन । स्व. थापाले उर्लाबारी बनाएका थिए भने अरुले त केवल बिगारेका छन् । धूजाधूजा तुल्याएका छन् ।’

स्व. थापा परिआउँदा आफ्नो जग्गा धितो राखेर पनि जनतालाई उकासेका थिए । उनको शेषपछि उनका छोराहरूले कतिपय त्यस्ता जग्गा सकिनसकी उकासेका पनि छन् । कति उकासिने क्रममै छन् । अब आजकै दिनमा नेपालभरिमा नै यस्ता त्यागी जनप्रतिनिधि खोज्‍न दिउँसै सडकबत्तीहरू बाल्नुपर्ने बेला आएको छ भन्दा अत्युक्ति नहोला ।

अरनिको माध्यमिक विध्यालयका शिक्षक जीवनाथ खतिवडा स्मरण गर्छन्, ‘स्व. उपेन्द्र थापा पञ्चायतकालका जनप्रतिनिधि हुँदाहुँदै पनि उनी निरंकुश थिएनन् भन्‍ने कुरा पुष्टि गर्ने एउटा घटनाको मलाई ताजा स्मरण छ । ०४६ सालको जनआन्दोलनताका म उर्लाबारी क्याम्पस पढ्थेँ ।

आन्दोलनको नेतृत्व मैले गरेको हुनाले म क्याम्पसमा पढाइ भइरहेको समयमा कालो झण्डा निकालेर क्याम्पसको मञ्चमा भाषण गर्दै क्याम्पस बहिष्कारको घोषणा गर्दै थिएँ । त्यसै बेला प्रहरीहरू आएको सुइँको पाएर तत्काल त्यहाँबाट फटाफट हिँडेर उर्लाबारी चोकमा आइपुगेको मात्रै के थिएँ त्यहीबेला एक जना मण्डले ग्याङको सहपाठी अचानक मेरा सामुन्‍ने आएर बाटो छेक्दै अलिक पर उभिएका उपेन्द्र थापालाई बोलायो र भन्यो, 'प्रधानपञ्चज्यू क्याम्पस बहिष्कार गरेर हामीलाई पढ्न नदिने यही हो । यसलाई गिरफ्तार गर्नुपर्‍यो । तर उपेन्द्र थापा मलाई हेरेर हाँसे मात्रै । उनले त्यो मण्डले साथीको कुराप्रति चासो नै दिएनन । म पनि सरासर आफ्नो घर गँगटेतर्फ लागेँ । त्यतिबेला भूमिगत भएर आन्दोलन गर्ने धेरैको ज्यान स्व. थापाले बचाएका थिए । उनी बिल्कुलै निरंकुश थिएनन् ।’

अथाह बलिदानले प्राप्त भएको प्रजातन्त्रको तीन दशक उमेर पुग्दा आजका जनप्रतिनिधिहरू भ्रष्ट, निरंकुश र निकम्मा सावित भइरहेको परिस्थितिमा पञ्चायतकालका लोकप्रिय जनप्रतिनिधि स्व. उपेन्द्र थापाको काम गर्ने प्रजातान्त्रिक पद्धतिको जति प्रशंसा गरे पनि कम हुन्‍छ ।

आज जुनसुकै दलको कार्यकर्ता भए पनि कमसेकम उर्लाबारीका अघिल्लो पुस्ताका बासिन्दाहरू यति त स्वीकार गर्छन् कि स्व. थापाको काम गर्ने पद्धति बिल्कुलै प्रजातान्त्रिक थियो । र, उनी नितान्त सर्वहाराका जनप्रतिनिधि थिए । उर्लाबारीवासीले मात्रै होइन सारा नेपालीले यस्ता त्यागी जनप्रतिनिधिबाट केही प्रेरणा लिनु अति जरुरी छ । स्व. थापाको देहावशान २०६१ बैशाख ३ मा आइतबारेस्थित आफ्नै निवासमा भएको थियो । तीनवटी श्रीमतीका तर्फबाट उहाँका ४ भाइ छोरा र ३ बहिनी छोरी छन् ।



Author

थप समाचार