स्थानीय तह निर्वाचन २०७९

धरान-१२ मा २०७४ कै ‘सेट’ दाेहाेरियाे

बाबुराम भण्डारी |
जेठ ६, २०७९ शुक्रबार १७:८ बजे

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको एउटा वडामा भने अघिल्लो कार्यकालमा निर्वाचित भएका वडाध्यक्षसहित पाँचैजनाको ‘सेट’ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि उत्तरमा छाता चोक र त्यहाँबाट स्वस्तिका चोक हुँदै चतरा लाइनसम्मको क्षेत्र वडा नम्बर १२ हो । धरानको मुख्य बजार क्षेत्रमै अघिल्लो कार्यकालमा जितेका सवैले दोस्रो पटक निर्वाचित भएका हुन् ।

२ हजार ८३८ मतदाता रहेको धरान-१२ मा १ हजार ७३९ मत खसेको थियो । वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी पाँचैजना पुराना अनुहार यसपटक पनि निर्वाचित भए । नेकपा एमालेबाट २०७४ मा पाँचै जनाको प्यानलले धरान १२ मा जितेका थिए । उनीहरुले यसपटक पनि प्यानलै निर्वाचित भएका हुन् । वडाध्यक्षमा टंक बहादुर राई, सदस्यहरु ब्रहमज्ञ भट्टराई र बिनिता ब्रजाचार्य, महिला सदस्य चुन्नु थापा र दलित महिला सदस्य शान्ति कुमारी त्रिखत्रीको प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


वडाध्यक्ष राईले यसपटक १६४ मतले नेपाली कांग्रेसका बिष्णु तामाङलाई पराजित गरेका हुन् । उनले ८१५ मत प्राप्त गर्दा तामाङले ६५१ मत ल्याएका छन् । २०७४ मा राईले कांग्रेसकै भोजकुमार न्यौपानेलाई २९० मतले पराजित गरेका थिए । खुल्ला सदस्यमा ब्रहमज्ञ भट्टराईले ८४३ र विनीता बज्राचार्यले ७३१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

महिला सदस्यमा चुन्नु थापाले ७९२ र दलित महिला सदस्यमा शान्ति देवी त्रिखत्रीले ७८९ मत प्राप्त गर्दै विजयी भए । वडाध्यक्षमा पुनः निर्वाचित भएका राईले अघिल्लो कार्यकालमा काम गर्दा वडाबासीहरुलाई कुनैपनि प्रश्न उठाउन नदिएको दाबी गरे । त्यसैले यसपटक पनि आफुहरुलाई नगरबासीले पत्याएको बताए । ‘हामीसँग अनुभव पनि थियो, विगतमा काम सुरु गरेर पुरा गर्न बाँकी रहेको वडा कार्यालय भवन निर्माण, चतरालाई लाइनको बाटो निर्माण लगायतको काम बाँकी थियो’ उनले भने, ‘पहिले पनि राम्रै काम गरेको भन्दै पार्टीले दोस्रो कार्यकाललाई टिकट दियो, यसपटक पुराना हामी सवैले जितेका छौं ।’ उनले कोभिड १९ का कारण अघिल्लो कार्यकालमा रोकिएका अधुरा काम यो कार्यकालमा सम्पन्न गर्ने बताए ।

विगतमा कामका दौरान अन्य पार्टीहरुसँग समेत सहकार्य गरेर हिंडेकोले कसैलाई पनि प्रश्न उठाउन ठाउँ नदिएको वडाध्यक्ष राईले दाबी गरे । सोही वडाका एमाले नेता गिरिराज अधिकारीले निर्वाचित सवैले विगतको कार्यकालमा निर्विवाद रुपमा वडामा काम गरेको मुल्यांकन गर्दै दोेस्रो पटकका लागि टिकट दिइएको र सवैको सहयोगमा जितेको बताए ।

‘वहाँहरुलाई टिकट दिने बेलामा कार्यकालको समिक्षा भएको थियो,’ उनले भने, ‘यो सेटले काम गर्दा अनियमितता र भ्रष्टाचारको कुनै पनि आरोप लागेन, निकाल्ने आधारै नभएपछि सर्वसम्मत रुपमा टिकट दिएका थियौं ।’ वडा तहमा भएको मूल्याकंनको आधारमा पार्टी नेतृत्वले समेत सकारात्मक मूल्याकंन गरेकोले यसपटक पनि उनीहरुलाई टिकट दिएको अधिकारीले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x