राजनीति

भुसाल र पाण्डेलाई  ओलीले सोधे पुनःस्पष्टीकरण

इकागज |
चैत १६, २०७७ सोमबार १८:१७ बजे

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ चैतमा सोधिएको स्पष्टीकरण पत्रको जवाफ नपठाएको भन्दै नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पुनःस्पष्टीकरण सोधेका छन् । 

स्पष्टीकरणको जवाफ पठाएका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई चित्तबुझ्दो जवाफ नपठाएको भन्दै ६ महिना निलम्बन गरेका ओलीले भुसाल र पाण्डेलाई पुनःस्पष्टीकरण सोधेका हुन् ।
 
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूय थापाले भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण सोधिएको इकागजलाई जानकारी दिए ।
 
यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र पुनः स्पष्टीकरण दिन भनिएको थापाले जानकारी दिए । 


यसअघि समानान्तर पार्टी अभ्यास गरेपछि नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसाललाई चैत ९ मा स्पष्टीकरण सोधिएको थियो । चैत १२ मा जवाफ दिँदै नेता नेपालले ओलीमाथि नै प्रतिप्रश्न गरेका थिए। रावलले ओलीमाथि १९ करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

पाण्डे र भुसालले भने जवाफ दिएका थिएनन् ।
 


Author

थप समाचार
x