राजनीति

किन हारे ट्रम्प ?

निक ब्रायन्ट |
कात्तिक २३, २०७७ आइतबार १६:२० बजे

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हार व्योहोरेका डोनाल्ड ट्रम्पले इतिहासमै दोस्रो धेरै मत ल्याए । उनको नाममा ४७ प्रतिशत मत खस्यो । उनले आफ्नो प्रभाव रहेको फ्लोरिडा र टेक्सस सहितका २४ वटा राज्यमा प्रतिद्वन्द्वी जो बाइडनलाई पछि पारे । अनि, उनको भक्तिगान गाउने हजारौं अमेरिकीले उनको साथ छाडेको देखिएन । ट्रम्पको कमजोरी बारे विश्लेषण गर्दैगर्दा उनका बलिया पक्षहरूका बारेमा पनि छलफल हुन आवश्यक छ । यो निर्वाचन मा उनका धेरै बलिया पक्षहरू देखा नपरेका होईनन् । तर पनि उनी पराजित भए ।   

अमेरिकी इतिहासमै चार पदासिन राष्ट्रपतिले मात्र निर्वाचन  निर्वाचन हारेका छन् । ट्रम्प ती चार अभागी मध्येको एक बने । अनि लगातार दुई निर्वाचनमा लोकप्रिय मत नपाउने पहिलो राष्ट्रपति पनि उनी नै बने ।


सन् २०१६ को निर्वाचनमा ट्रम्प किन विजय भए ? त्यसको विवेचना जरुरी छ । ट्रम्प अमेरिकी राजनीति भन्दा बहिरबाट आए । उनले आफुलाई स्पष्ट वक्ताका रुपमा स्थापित गराए । अरुले बोल्न नसकिरहेको विषयमा बोले । भन्‍न नसकिरहेको कुरा भने । उनको यस्तो बानीले लाखौ अमेरिकीहरूलाई आर्कषित गर्‍यो ।

तर अहिलेको निर्वाचन  हार्नुमा उनको यो बानी पनि कारक बनिदियो । सन् २०१६ को निर्वाचनताका मतदातालाई ट्रम्पको जे बानी मनपरेको थियो, चार वर्षपछि त्यही बानी मन पर्न छाड्यो । ट्रम्पले पछिल्ला चार वर्षमा देखाएको आक्रमक व्यवहारले पनि उनलाई अघिल्ला निर्वाचनमा भोट हालेका मतदाताहरू यसपटक झस्किए । विशेषगरी सहरका वरिपरी बस्ने मतादाताबाट उनलाई यसपटक पहिलेको भन्दा कम मत आयो । यस्ता तीन सय ७३ ‘काउन्टी’ मा हिलारी क्लिन्टनले अघिल्लो निर्वाचनमा ल्याएको भन्दा धेरै मत बाइडनले ल्याए । यी काउन्टीका विशेषगरी महिला मतदाताहरूले ट्रम्पलाई रुचाएनन् ।

सन् २०१८ को मध्यावधी निर्वाचनमा शिक्षित रिपब्लिकनहरूले ट्रम्पको साथ छाडिरहेको देखिएको थियो । ट्रम्पले अमेरिकी राष्ट्रपतिले पालना गर्नुपर्ने मापदण्ड पालना नगरेको उनीहरूको बुझाइ थियो । ट्रम्प परम्परागत अमेरिकी राष्ट्रपति भन्दा फरक हुनेछन् भन्‍ने अपेक्षा त थियो । तर उनले राष्ट्रपतिले पालना गर्नुपर्ने मर्यादा बाहिर जानेछन् भन्‍ने अनुमान भएको थिएन ।

ट्रम्पका शिक्षित मतदाताहरूले उनको जातीवादी र रगंभेदी व्यवहारलाई पनि रुचाएनन् । अमेरिकामा बढ्दै गएको श्‍वेत राष्ट्रवादका बिरुध्द पनि ट्रम्प बोलेनन् । उनी विभिन्न अन्तराष्ट्रिय मुद्दामा अमेरिकाका परम्परागत मित्रहरू बिरुध्द उभिए । र भ्लादिमिर पुटिन जस्ता अधिनायकवादीलाई प्रशंसा गर्दै हिडे । ट्रम्पका यस्ता व्यवहारहरूलाई शिक्षित रिपब्लिकनहरूले रुचाउने सम्भावना थिएन । जसको असर मतदानमा देखियो ।

ट्रम्पले सधै अन्य राजनीतिज्ञ भन्दा आफु प्रतिभाशाली रहेको दावी गरिरहे । प्रमाणित नहुने दावा पेश गरिरहे । कहिलेकाँही उनले प्रयोग गर्ने भाषाले उनलाई राष्ट्रपति कम, ‘गुण्डा नाइके’ ज्यादा देखाउथ्यो । कतिसम्म भने, उनले आफ्नै पूर्व वकिल माइकल कोहेनलाई मुसाको संज्ञा समेत दिन भ्याए ।

निर्वाचनमा पराजित भएपछि ट्रम्पले देखाएको व्यवहारलाई अधिनायकवादसँग तुलना गर्ने पनि प्रशस्तै छन् । पिट्सबर्गका चक होवेनस्टेन सन् २०१६ को निर्वाचन ताका ट्रम्पका सर्मथक थिए । तर यसपटक उनले बाइडनलाई मत दिए । ‘मानिसहरू ट्रम्पबाट दिक्क भएका छन् । हामी यो देशमा घृणा र विभाजन चाहँदैनौ । सबै अमेरिकीहरू एकजुट भएको हेर्न चाहान्छौं,’ उनले भने, ‘जुन ट्रम्प राष्ट्रपति हुन्जेल सम्भव छैन् । त्यसकारण हामीलाई बाइडनको आवश्यकता परेको हो ।’

ट्रम्पले आफ्नो सर्मथकको दायरा फराकिलो बनाउन सकेनन् । न त उनले त्यसो गर्न नै चाहे । सन् २०१६ को निर्वाचनमा उनले ३० राज्यमा कब्जा जमाएका थिए । उनी ती राज्यहरूको मात्र राष्ट्रपति रहेको जसरी प्रस्तुत भए । उनी पुरा अमेरिकाकै राष्ट्रपति बन्‍न सकेनन् । उनले आफुलाई अनुदारवादीहरूको मात्र प्रतिनिधी बनाए । ट्रम्पले निर्वाचनमा आफूलाई मतदान नगरेका राज्यहरूमा प्रभाव बढाउने चेस्टा कहिले पनि गरेनन् । उनले आफुलाई मत नदिने अमेरिकीहरूको अनुहार नै हेर्न चाहेनन् । त्यसकारण पनि यसपटकको निर्वाचन मार्फत अमेरिकनहरूले विभाजन र उत्तेजना बढाउनेलाई होईन, बिग्रेको स्थितीलाई सम्हाल्ने नेतालाई राष्ट्रपति बनाउन चाहे ।   

सन् २०२० को निर्वाचन अघिल्लो निर्वाचनको शृङखला थिएन । चार वर्ष अघि निर्वाचन अभियानमा उनले पदासिन राष्ट्रपति र पार्टीको बिरोध गरे । तर अहिलेको अवस्था फरक थियो । उनले आफ्नो कार्यकालमा गरेका गल्तीहरूका बारेमा जवाफ दिनुपर्ने थियो । विशेषगरी कोभिड-१९ ले ल्याएको समस्याहरूलाई निराकरण गर्न उनले कस्तो कदम चाले त्यो अमेरिकीहरूले देखेकै थिए । त्यस सम्बन्धि सिर्जित प्रश्‍नहरूको जवाफ उनले दिनै पर्ने थियो । अनि यसपटक बाराक ओबामा र हिलारी क्लिन्टनलाई आरोप लगाउने स्थिती पनि थिएन । न त उनले बाइडनलाई खलपात्र बनाउन सक्थे । त्यसो त डेमोक्र्याट्हरूका लागि बाईडन उपयुक्त उम्मेदवार थिए । जसले गरिखाने वर्गको मतलाई आर्कषित गर्न सफल भए ।

ट्रम्पले निर्वाचन त हारे । तर कुन बिन्दुमा पुगेपछि उनी बाइडन भन्दा पछी परे । यो प्रश्‍न महत्वपूर्ण छ । सन् २०१६ को निर्वाचनमा, वासिङटनमा एलिटहरूको हालिमुहालीदेखि वाक्क भएका धेरैले ट्रम्पलाई मत दिएका थिए । तर ट्रम्प ह्वाइटहाउसमा पुग्नसाथ ती मतदाताहरू चिन्तित देखिन थाले । कतिसम्म भने, ट्रम्पलाई ह्वाईटहाउसले परिवर्तन गर्ने भन्दा पनि उनले ह्वाईटहाउसलाई परिवर्तन गरिदिए ।

उनी हार्नुमा राज्यसञ्‍चालनमा उनले देखाएको अक्षमता कारक रह्यो वा कोरोनाले पुरै स्थितीलाई उनी बिरुध्द खडा गराइदियो ? प्रश्‍न उठ्छ । त्यसो त, कोरोना अमेरिका आइपुग्‍नु अघिसम्म पनि ट्रम्प राजनीतिक हिसावमा बलियो देखिन्थे । उनी महाअभियोगबाट पनि बाचेकै हुन् । उनको ‘रेटिङ’ पनि बलियो नै थियो । अमेरिकी अर्थतन्त्रलाई सुदृढ बनाउन कदमहरू चालेको भनेर उनको प्रशंसा पनि गरियो । उनी पदासिन राष्ट्रपति भएकाले निर्वाचनमा उनलाई सहज हुने अनुमान पनि गरियो । तर अनुमान गरेअनुसार अवस्थाकाको सिर्जना भएन ।  

निर्वाचनमा सधै एउटा महतवपूर्ण प्रश्‍न खडा हुन्छ । के अहिले मुलुकको अवस्था पदासिन राष्ट्रपति आउनुअघिको भन्दा राम्रो छ ? विशेषगरी कोरोना महामारीपछि ट्रम्प नेतृत्वको अमेरिका चार वर्षअघिको भन्दा राम्रो अवस्थामा छ भन्‍न सक्ने ठाँउ रहेन ।

तर ट्रम्पको अक्षमताको दोष कोरोनामाथि थोर्पनु जायज हुँदैन । कुनै पनि मुलुकको राष्ट्रपतिले सकंटको बेलामा राम्रो गर्न सके उसको उचाइ बढ्ने हो । सकंटले नै नेतृत्वलाई राम्रो गर्न मौका दिन्छ । अमेरिकालाई मन्दीबाट मुक्त गराएकै कारण फ्रयान्कलिन डे रुजबेल्टको उचाइ बढ्यो । सेप्टेम्बर ११ को आक्रमण पछि चालेको कदमका कारण नै जर्ज डब्लु बुस लोकप्रिय बने । त्यसकारण ट्रम्पलाई कोरोनाले सकंट भन्दा पनि मौका प्रदान गरेको मान्‍नुपर्छ । तर सिर्जित अवस्थालाई ब्यवस्थापन गर्न नस्कनुले उनको पराजय सम्भावनालाई मजबुत बनायो ।     

आउँदा धेरै वर्षहरूसम्म पनि ट्रम्प कन्जरभेटिभहरूको अभियानको नेता रहिरहनेछन् । रोनाल्ड रेगनले बिगतमा कन्जरभेटिभहरूको अभियानमा बलियो प्रभाव पारेका थिए । त्यस्तै प्रभाव ट्रम्पले पनि पार्न सक्छन् । निर्वाचन हार्दैमा उनलाई रिपब्लिकनहरूले अस्विकार गरेको भन्‍न मिल्दैन ।

ट्रम्प अमेरिकामा विभजित ब्यक्तित्वका रुपमा रहे । तर उनको लोकप्रियतामा पुरै ह्रास आएको भने होइन । उनी सन् २०२४ को निर्वाचनमा उम्मेदवार बन्‍न सक्ने सम्भावना पनि छ । ट्रम्पको पराजयले विभाजित अमेरिकालाई जादूयी तरिकाले एकताबध्दता बनाउँछ भन्ने होईन । किनभने उनको पराजयसँगै उनका सर्मथकहरू हराउने होईनन् । यस निर्वाचनपछि पनि ट्रम्पको भक्तिगान गाउनेदेखि उनलाई घृणा गर्ने जमात रहिनै रहनेछ । त्यसकारण निर्वाचन पराजय नै ट्रम्पको अन्त्य होईन ।  (बीबीसीका न्यूयोर्क संवाददाता ब्रायन्टको ट्रम्पबारे लोभलाग्दो समिक्षा रिर्पोटिङ इकागजको अनुवादमा)  


Author

थप समाचार
x