राजनीति

माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच अस्वाभाविक तथ्य

पुष्पराज आचार्य |
चैत १७, २०७७ मंगलबार १३:५५ बजे

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई निलम्बन गरेको पत्रमा केही अस्वाभाविक तथ्य फेला परेका छन् । पहिलो, नेता नेपाललाई चैत ८ मा स्पष्टीकरण सोधियो ।

चार दिनपछि नेपालले जवाफ पठाए, तर नेता नेपालको जवाफमा चित्त नबुझेर निलम्बनको कारबाही २६ दिनअघि अर्थात् फागुनको १६ गतेको मितिमा उक्त पत्र काटिएको छ । नेता नेपालले चित्तबुझ्दो जवाफ दिनेछैनन् भन्‍नेमा बालुवाटार पहिले नै दूरदर्शी भएर महिना दिन पहिल्यै कारबाहीको चिठी तयार पारिएछ । दूरदर्शिता होस् त यस्तो  !


दोस्रो, कारबाही गरिएको पत्रमा जताततै देखिने शब्द-शब्दावली हुन्- ‘अहंकार’, ‘आत्मकेन्द्रित’, ‘स्वार्थी’, ‘आपराधिक’ इत्यादि । एउटै बुँदामा ‘गाली’का उही शब्द दुई-तीनपटक प्रयोग गर्न सक्ने उहाँहरूको क्षमता मान्‍नैपर्छ !

तेस्रो, पहिलो र दोस्रो बुँदामा ‘अहंकार’, ‘आत्मकेन्द्रित’ लेखेका छन् नै, तेस्रो बुँदामा अझै अगाडि बढेर ‘आपराधिक क्रियाकलाप’ भन्‍ने शब्दावली नै दुई पटक प्रयोग भएको छ । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने ‘अपराधीहरूको अनुहार झल्झली याद आइरहेको छ’ भनेर आफ्नो फेसबुकमा  स्ट्याटस लेखेका थिए ।

चौथो, आलोचना, गालीगलौज र निन्दामा केन्द्रित भएर कम्युनिस्टहरूमा पुस्तक नै लेख्‍न सक्ने जोस-जाँगर र ऊर्जा विगतमा पनि देखिएकै हो । उनीहरू समाज-राजनीतिमा गालीगलौजका नयाँ-नयाँ शब्द-शब्दावली भित्र्याउन-बनाउन माहिर देखिएकै हुन् । नेता नेपाललाई कारबाही गरिएको पत्रको चौथो बुँदामा यस्तै नयाँ शब्द देखियो, ‘फाटोवादी’ । शब्दकोशवादीहरुका निम्ति पनि नयाँ शब्द मिलेको छ है ।

पाँचौँ, कारबाही चिठ्ठी यस्तो छ कि मानौँ यो प्रजातान्त्रिक व्यवस्थापूर्वको जहानियाँ शासन व्यवस्थाको शैली-भाषा-गत प्रतिविम्ब हो । पत्रमा नेपाललाई ओली भन्छन्- ‘थप कडा कारबाही गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराउँछु’ । सोही बुँदामा उनी अझै लेख्छन्- सही बाटोमा फर्कने मौका दिन्छु । त्यसभन्दा अगाडि उनी लेख्छन्, ‘निरम्बन’ (निलम्बन ?) गरिएको छ । ‘निरम्बन’ शब्दकोशमै भेटिएन, यो कस्तो खालको सजाय होला त ?

पाँच बुँदाको अन्तिम निष्कर्ष अनुच्छेद भन्छ- सच्चिनका लागि अन्तिम मौका हो । विचार र क्रियाकलाप सच्याई आएमा निलम्बन अवधि बीचैमा घटाइदिन सकिन्छ । तर यसलाई पार्टीको कमजोरी ठानेमा निलम्बनको अवधि बीचैमा थप्‍न पनि सकिन्छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली मौलिक संस्कृति-साहित्यमा गहिरो अभिरुचि राख्छन् । अघिल्लो साता उत्कृष्ट गीतकारको उपाधि प्राप्त ओलीलाई अब चाँडै उत्कृष्ट निबन्धकारको उपाधि पनि आइलागे अचम्म हुनेछैन ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x