राजनीति

समर्थन फिर्ता लिने विषयमा अलमल गर्दै माओवादी

इकागज |
चैत १९, २०७७ बिहीबार १३:४३ बजे

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयको निर्णयमा पुग्‍न माओवादी केन्द्रलाई सकस भएको छ । अझै निर्णयमा लिन नसकेपछि फेरि पनि दुई तीन दिन भन्दै माओवादी अलमलिएको छ । 

पटक-पटक एक/दुई दिनमा फिर्ता लिने भन्दै आएको माओवादीको बिहीबार बसेको स्थायी कमिटीले केही दिन समय लिएर आधिकारिक निर्णय गर्ने निर्णय गरेको हो ।


प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई माओवादीको समर्थन नरहेको बताउँदै दुई/तीन दिनमा औपचारिक निर्णय हुने बताए । नेता श्रेष्ठले ओली नेतृत्वको सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई आग्रह गरे ।

'पार्टीको समर्थन छैन भनेर लेखेर दिन मात्रै बाँकी  हो । माओवादी स्पष्ट छ । ओली सरकारलाई विस्थापित गर्ने नै हो,' उनले भने, 'हामी कसरी बलियो बनेर अघि बढ्ने भन्‍नेमा छौँ ।'

आजको बैठकमा पनि पार्टीको संरचना कसरी बलियो बनाउन सकिन्छ भनेर नै छलफल गरेको उनले बताए । अब बस्‍ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यही सरकारको विषयमा निर्णय हुने जानकारी दिइएको छ । 


Author

थप समाचार
x