राजनीति

प्रचण्डको स्वीकारोक्ति : जहाँ-जहाँ पार्टीभित्र टिकट कब्जा भयो, त्यहाँ चुनाव हारियो

इकागज |
असार ९, २०७९ बिहीबार १३:४९ बजे

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संघीय निर्वाचनमा सही र लोकप्रिय उम्मेदवारलाई मात्र टिकट दिन पार्टीपंक्तिलाई आह्वान गरेका छन् । माओवादी केन्द्र ललितपुरले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकप्रिय उम्मेदवार नउठाएकै ठाउँमा पार्टीले स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा पराजय भोग्नु परेको बताए । 

‘अहिले धेरै ठाउँमा त्यस्ता उम्मेदवारहरू पराजित भएका छन्, जसले टिकट पाउन त धेरै सक्रियता देखाए तर जनतामा लोकप्रिय हुने कुरालाई त्यति ध्यान दिएनन्,’ उनले भने, ‘निर्वाचन जित्नका लागि कसले टिकट पाउनेभन्दा पनि को लोकप्रिय छ भन्ने कुरा मुख्य हुँदो रहेछ ।’


स्थानीय तह निर्वाचनमा जहाँ-जहाँ टिकट कब्जा गरियो, त्यहाँ त्यहाँ आफूहरूले हार व्यहोरेको उनको भनाइ छ । ‘तर जहाँ-जहाँ उम्मेदवारको सही छनौट भएको छ त्यहाँ हामीले प्रतिकूलताका बाबजुद पनि जितेका छौँ ।’

संघीय चुनाव सँघारमा रहेकाले उनले सबैलाई त्यसको तयारीमा व्यापक रुपमा लाग्न सुझाए । उनले चुनावमा कसरी जाने भन्ने विषयमा पार्टी र गठबन्धनभित्र पनि छलफल भइरहेको उल्लेख गरे । 

प्रचण्डले पार्टीलाई बलियो बनाउने कुरामा सबैलाई ध्यान दिन आह्वान गर्न पनि निर्देशन दिए । ‘सबैभन्दा पहिला म सबैलाई भन्न चाहन्छु, आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । पार्टी र संगठनलाई सुदृढ र विस्तार गर्न प्राथमिकता दिनुस् ।’ उनले भने । 

उनले अगाडि भने, ‘सदस्यता व्याकपरूपमा बढ्ने कुरामा ध्यान दिनुस् ।,’

माओवादीले सबलाई परास्त गर्न सक्छ भन्ने गत निर्वाचनको नतिजाले प्रमाणित गरेको पनि उनले जिकिर गरे । पार्टीले मेहनत गरेर, संघर्ष गरेर आफूले पूर्वनिर्वाचनमा हार व्यहोरको ठाउँहरूमा पनि विजय हासिल गरेको उनले उल्लेख गरे । 


Author

थप समाचार
x