राजनीति

पहिला प्रधानमन्‍त्री हुँदा झिलिमिलीमै गयो, अब पाए काम गर्छु : प्रचण्ड

इकागज |
असार १०, २०७९ शुक्रबार १६:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।  नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरू माथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।


अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौं महिला बिति गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चिनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ । किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


Author

थप समाचार
x