राजनीति

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार

इकागज |
असार १०, २०७९ शुक्रवार १६:४५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।शुक्रबार महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट अन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिइन् । उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको बताइन् ।


उपप्रमुख डंगोलले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको बताइन् । उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि जनाइन् । उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९-०८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको उनले भनाइ राखिन् । 

चालु आर्थिक वर्ष २०७८-०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ भने पूँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तीयतर्फ १८ करोड रुपैयाँ गरी कुल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो ।


Author

थप समाचार
x