राजनीति

नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री

इकागज |
असार १३, २०७९ सोमवार १८:५० बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधीन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताएका छन् । 

विधेयक अघि बढाउने सन्दर्भमा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटकपटक छलफल गरिरहेको बताए । 


राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, `नागरिकता विधेयक धेरै दिनसम्म सदनमा नरहोस्, चाँडो पास भएर जाओस्, नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्न सकियोस् भन्ने नै सरकारको सत्प्रयास रहेको छ ।`

नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागरिकले प्राप्त गर्ने मौलिक अधिकारको व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिए । 

गृहमन्त्रीका अनुसार बैंक खाता, अध्ययन, सिमकार्ड, आयोगका विज्ञापनमा दरखास्त दिन पाउने सवारी अनुमतिपत्र लिन, सवारी साधन खरिद गर्न, मुद्दा मामिला, प्यान लिन, व्यावसाय दर्ता, जन्मदर्ता रोजगारीलगायत सुविधाहरु प्राप्त गर्नका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको छ । 

नागरिकता प्राप्त गर्न वञ्चित रहेको अवस्थामा विधेयक पास नहुँदासम्म सरकारले आदेश जारी गरेर आवश्यक सुविधाका लागि गृहले कानुन मन्त्रालयमा यससम्बन्धी मस्यौंदा पेश गरेको जानकारी दिँदै उनले यसले चाँडै नै आकार लिनेमा आफू विश्वस्थ रहेको बताए । 

रासस


Author

थप समाचार
x