राजनीति

जमिन प्लटिङका कारण अन्‍नबाली उत्पादनमा कमी आयोः ओली

इकागज |
असार १५, २०७९ बुधबार १८:२३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्‍नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् ।

बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपाल धान बालिका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको उल्लेख गरे ।


ओलीले नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्‍नहरू आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरूरी रहेको औंल्याए । उनले सहकारीका माध्यमहरू अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्‍नुपर्ने बताए । अध्यक्ष ओलीले धान खेतीलाई नेपालमा बचाउन जरूरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्‍नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको जिकिर गरे । 

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्‍नहरू बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताए । उनले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद् भएको उल्लेख गरे । उनले लापरबाही र असावधानीका कारण यी गल्तीहरू भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने सुझाव दिए । 

ओलीले असावधानी र लापरबाहीलाई सच्याएर खाली जमिन राख्‍न नदिने हो भने कृषिलाई आधुनिकीकरण तर्फ बढाएर व्यवसायिकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।


Author

थप समाचार
x