राजनीति

वाम एकताबारे गुरुङको फरक मत : हालकै अवस्थामा एकता गर्नुको औचित्य छैन

कमल विष्ट |
असार १५, २०७९ बुधवार १९:० बजे

काठमाडौँ- नेपाली राजनीतिक वृत्तमा वाम एकताको विषय फेरि एकपल्ट बहसको सतहमा आएको छ । आफूलाई वामपन्थी शक्ति दाबी गर्ने दलहरू स्थानीय तह निर्वाचनमा एक्ला एक्लै लड्दा कमजोर सावित भएपछि वाम एकताउपरको बहस दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको देखिन्छ । 

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष तहकै नेताहरू वाम एकताको पक्षमा खुलेरै बोल्न थालेका छन् । केही नेताहरूले त वाम एकताको विकल्प नै नरहेको टिप्पणी समेत गरिरहेका छन् । आसन्‍न संघीय र प्रादेशिक चुनावमा सम्पूर्ण वामपन्थी दलहरू एक भएर जानका निम्ति गृहकार्य थालिहाल्नुपर्ने अभिव्यक्ति पछिल्ला दिनमा शीर्ष तहकै नेताहरूबाट सुनिन थालेको छ । 


नौ महिनाअघि मात्र नेकपा एमालेबाट छुट्टिएर बनेको दल नेकपा एकीकृत समाजवादीको सोमबार र मंगलबार काठमाडौँमा आयोजित केन्द्रीय परिषद्को पहिलो बैठकले वाम गठबन्धनका लागि ढोका खोलेको छ । 

भर्खरै सम्पन्‍न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलोबाट दोस्रो दल बनेलगत्तै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ‘डिजास्टर भयो, अब वाम गठबन्धन गरौँ’ भन्‍ने अभिव्यक्ति दिएका थिए । घनश्याम भुसाल, रघुजी पन्तलगायतका अन्य एमालेका नेताहरू पनि यसको पक्षमै छन् । 

यता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेताहरू पनि वाम गठबन्धनकै पक्षमा खुलेरै लागेका छन् । उनीहरूले एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दबाब मात्र दिएका छैनन्, प्रचण्ड एकताका सवालमा सकारात्मक नभए पार्टी नै फुटाउने चेतावनी समेत दिएका छन् । यसबारे विषयमा छलफल गर्न गत जेठ ३० गते श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

श्रेष्ठले ओलीलाई भेटेको भोलिपल्ट राष्ट्रिय सभामा एमाले सच्चिएर आए सहकार्य गर्न सकिने बताएका थिए । ‘ओली एकचोटि प्रतिगमनमा संलग्‍न भएको शक्ति हो,’ उनले भनेका थिए, ‘सच्चिएर आयो, आत्मसमीक्षा गरेर तत्परता प्रदर्शन गर्‍यो भने नयाँ ढंगले जान सकिन्छ ।’ श्रेष्ठ र पुन एमालेका अन्य नेताहरूसँग पनि निरन्‍तर विमर्शमै छन् । 

तर, माओवादी केन्द्रका थुप्रै शीर्षस्थ नेताहरू यसको पक्षमा देखिरहेका बेला माओवादीकै नेता देव गुरुङ भने हालकै अवस्थामा वाम एकता गर्नुको औचित्य नभएको बताउँछन् । राष्ट्रियता, लोकतन्त्र, सुशासनलगायतका आधारभूत मुद्दामा आफूलाई वामपन्थी शक्ति दाबी गर्ने एमालेको समान धारणा नभएकाले गुरुङ वाम एकता तत्काल सम्भव नहुने मान्छन् । एमाले लोकतन्त्रको पक्षमा नरहेर पश्चगमनको पक्षमा रहेको उनले जिकिर गरे । 

‘वाम एकता कामका आधारमा हुनुपर्छ, नामका आधारमा होइन । नीति मिल्यो भने अजेण्डा मिले सम्भव छ, नत्र छैन । राष्ट्रियता, लोकतन्त्र, सुशासनलगायतका आधारभूत अजेण्डामा एकमत छ कि छैन भन्‍ने हेर्नुपर्‍यो नि,’ इकाजगसँगको कुराकानीमा उनले भने, ‘दुई-दुईपल्ट संसद् भंग गर्ने, ९ महिनासम्म संसद् अवरूद्ध गर्ने, सम्पूर्ण संवैधानिक अंग भताभूंग गर्ने र सर्वोच्च अदालत समेत निरपेक्ष रहन नदिने काम उसले गर्‍यो ।’

यी विभिन्‍न कारणले लोकतन्त्र तथा सुशासनलगायतका मुद्दामा एमालेले फरक राखिरहेको पुष्टि गर्ने उनको भनाइ छ । एमाले भ्रष्टाचार तथा कुशासनविरूद्ध निर्मम हुन नसकेको पनि उनले बताए । 

‘सुशासन भन्या छ अनि भ्रष्टाचार गर्‍या छ । एकताका लागि त भ्रष्टाचारविरूद्ध निर्मम हुन सक्नुपर्‍यो नि, भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुपर्‍यो नि,’ उनले भने । 
आधारभूत विषयमा पनि फरक मत राख्‍नेसँग सहकार्य गर्न कुनै पनि हालतमा नसकिने उनी बताउँछन् ।  तर, यी यावत् विषयमा एकमत भएको खण्डमा भने मिलेर जान सकिने उनको तर्क छ ।

‘यी यावत् विषयमा समीक्षा भयो, छलफलपछि एकमत भयो भने मोर्चाबन्दी गरेर फेरि अगाडि जान सकिन्छ,’ उनले खण्डन गरे । 

यी विषयमा समान धारणा भएको खण्डमा माओवादी केन्द्र वाम एकताका लागि सदैव तयार रहेको उनले प्रष्टाए । ‘यो त सर्वसम्मत नीति नै हो नि । आधारभूत मुद्दामा समान भइयो भने यो छलफल नै गर्नुपर्ने विषय होइन,’ उनले भने, ‘आधारभूत मुद्दामा समीक्षा गर्नुपर्‍यो । यी विषयमा सहमति छ कि छैन भनेर छलफल गर्नुपर्‍यो ।’ 

वाम गठबन्धनबारे निरपेक्ष रूपमा भन्‍न नसकिने र वाम एकता गर्ने नै हो भने नामका आधारमा नभएर कामका आधारमा हुनुपर्ने उनको जोड छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x