राजनीति

श्रीमान् १० वर्ष बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

इकागज |
असार १५, २०७९ बुधबार २१:२४ बजे

काठमाडौँ- सांसदद्वय बिमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । 

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । एकल महिलाको परिभाषामा ‘नियमित १० वर्षभन्दा बढी समय श्रीमान् सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ । 


प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्‍न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भन्दा दिने व्यवस्था छ ।

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै  सांसदद्वय विक र विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

दुबै संशोधनकर्ता सांसद प्रमुख विपक्षी नेकपा एमालेका सांसद हुन् । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० वर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्स्ताव राखेका छन् । उनले कामदार वर्ग,  विपन्‍न वर्ग वा गरिबीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दुई गुणा बढी दिइने, ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गरिने कानुनी व्यवस्थाको समेत प्रस्ताव राखेका छन् ।


Author

थप समाचार
x