राजनीति

पार्टीले वरिष्ठ उपाध्यक्ष बनाएन भने चुनाव लड्छु : मातृका यादव

कमल विष्ट |
असार १९, २०७९ आइतवार १८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी चयन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अहिले हम्मेहम्मे परेको छ । विशेषगरी पार्टीको महासचिव र बरिष्ठ उपाध्यक्षका लागि विभिन्‍न नेताहरूले आ-आफ्नो अडान कायमै राखेपछि अध्यक्ष प्रचण्डलाई तनाव भएको हो । 

यसै कारण गत मंसिरमा ८ औँ महाधिवेशन गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन । काठमाडौँको प्रज्ञा भवनमा आइतबारदेखि सुरू भएको पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकको पहिलो दिनमा प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने कार्यसूची थियो । तर, महासचिव र बरिष्ठ उपाध्यक्षका लागि नेताहरूले आ-आफ्नो अडान कायमै राखेपछि प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्न सकेनन् । 


तेस्रो बैठकबाट जसरी भए पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने केही केन्द्रीय सदस्यहरूले जोडदार रूपमा माग राखे पनि उनले यस विषयमा खासै बोलेनन् । उनी स्थानीय तह निर्वाचनमा पार्टीको कमजोर प्रदर्शन, एमसीसीलगायतका विषय समेटिएका १० पृष्ठ लामो ‘राजनीतिक प्रतिवेदन’ प्रस्तुत गरेर बिदा भए । 

पार्टीको सबैभन्दा महत्वपूर्ण पद मानिएको महासचिवका लागि वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताको दाबी रहँदै आएको छ । प्रचण्डले यीमध्ये कसै एकलाई सीधै महासचिवका लागि प्रस्ताव गर्न सक्ने अवस्था छैन । कसै एकलाई चयन गरियो भने पार्टीभित्र मनमुटाव सिर्जना हुने र यसको असर केही महिना मात्र पर रहेको संघीय तथा प्रादेशिक निर्वाचनमा देखिइन सक्ने भएकाले प्रचण्डका लागि महासचिव र बरिष्ठ उपाध्यक्षको टुंगो लगाउने ‘टाउको दुखाई’को विषय बनेको छ । 

पदाधिकारीको सन्दर्भलाई पार लगाउन प्रचण्डलाई सहज छैन । सहजै नसुल्झिने देखिएपछि यसको समाधानका लागि निर्वाचन नै गर्नुपर्ने पनि पार्टीभित्र आवाज उठ्न थालेको छ । 

पदाधिकारीका विभिन्‍न पदका लागि पार्टीभित्र चलिरहेकै बेला पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मातृका यादवले आफूले बरिष्ठ उपाध्यक्ष नपाए निर्वाचनमा जाने बताएका छन् । तर, यादवले आफू सर्वसम्मत रूपमै वरिष्ठ उपाध्यक्ष हुने जिकिर गरे । प्रचण्डबाट आफू एकदमै आशावादी रहेको उनको भनाइ छ । 

‘अध्यक्ष ज्यूले पर्सीसम्म पदाधिकारी प्रस्ताव गर्नुहुन्छ । सकेसम्म त्यो सर्वसम्मत नै हुन्छ होला,’ बैठकपछि इकागजसँग उनले भने, ‘अब भएन भने चुनावबाटै टुंगो लाग्छ । लागेन भने, चुनाव हुन्छ । सर्वसम्मत भएन भने चुनावको प्रावधान त हाम्रो विधानमै छ नि ।’

बरिष्ठ उपाध्यक्ष पदका लागि अध्यक्षलाई रिझाउने काम नगरेको पनि उनले दाबी गरे । ‘म पदका लागि कहिल्यै कसैलाई रिझाउने र भोट माग्‍ने मान्छे होइन ।’
उनले अगाडि भने, ‘वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन भयो भने म निर्वाचन लड्छु ।’

माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी कमिटीको प्रावधान राखेको छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने व्यवस्था छ । 

पदाधिकारी कमिटी मात्र होइन, देशभरबाट करिव १८ सय प्रतिनिधिको उपस्थितिमा सम्पन्‍न महाधिवेशनले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्न सकेको छैन ।

माओवादी केन्द्रको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक अब भोलि सोमबार बस्‍ने छ । भोलिको बैठकमा पनि अध्यक्ष प्रचण्डले पदाधिकारीका नामहरू चयन गर्ने कार्यसूची रहेको छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x