राजनीति

शैक्षिक प्रमाणपत्रका आधारमा  ऋण उपलब्ध गराउन माग

इकागज |
चैत २५, २०७७ बुधवार १६:४९ बजे

काठमाडौँ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

बुधबार अर्थमन्त्री विष्णु पौडेललाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियुले बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिको ऋण उपलब्ध गराउने अनिवार्य व्यवस्था हुनुपर्ने माग समेत गरेको हो । 


त्यस्तै संगठनले  सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकारसमक्ष माग गरेको छ । अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनुपर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्‍नुपर्ने बताएको छ । 

बिद्यार्थीहरूको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले बजेटको सीमाभित्र रहेर बिद्यार्थीहरूले उठाएका मागलाई सम्बोधन गर्ने आश्‍वासन दिए । त्यस्तै उनले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने विषयमा पनि मन्त्रालयले सहज वातावरण बनाउन प्रयास गर्ने बताए । 

अनेरास्ववियुले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न पनि माग गरेको छ ।


Author

थप समाचार
x