राजनीति

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

इकागज |
साउन २२, २०७९ आइतबार २१:२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । 

    ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए । 


    उनले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । 'हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन् ।' उनले भने, 'हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।'

    पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे । जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए । 

    संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । उनले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए । 

    विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उनले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । अध्यक्ष दाहालले सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै भने, 'आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ ।' 

    उनले आफ्नै पहलमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर र ऊर्जा क्षेत्रमा दीर्घकालीन लक्ष्यका साथ अभियान अगाडि बढाइएको स्मरण गरे । उनले ऊर्जाको व्यापारमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका काम अगाडि बढाइएको जानकारी दिए । 

    अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गरे । उनले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तबरले लगानी गर्ने वातावरण बनाइएको बताए । उनले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पारे । 
–––


Author

थप समाचार
x