राजनीति

बनेपाकी उपमेयरले कर्मचारीको बिदाइ पत्र च्यातिदिएपछि...

इकागज |
साउन २४, २०७९ मंगलबार ८:३१ बजे

बनेपा । बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटा दाहालले नगरपालिकामा आफ्नो पार्टीको बहुमत रहेकाले मेयरको मनोमानी नचल्ने भन्दै पत्रसमेत च्यातेकी छन् । कार्यपालिकामा एमालेको बहुमत रहेकाले करारका कर्मचारी राख्ने र हटाउनेमा मेयरको बोलवाला नचल्ने भन्दै उनले करारका कर्मचारी हटाएको पत्र च्यातेकी हुन् ।

बनेपाका मेयर शान्तिरत्न शाक्य कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर विमला एमालेबाट निर्वाचित भएकी हुन् । अघिल्लो स्थानीय निर्वाचनमा विजयी एमालेका मेयरले नियुक्त गरेका करारका कर्मचारीलाई यथावत् राख्नुपर्ने उनको अडान थियो । 


मेयर शाक्यले अघिल्लो मेयरले नियुक्त गरेका कानूनी सल्लाहकार, प्रेस सल्लाहकार लगायतका कर्मचारी करार अवधि सकिएपछि धन्यवादसहित बिदाइ पत्र तयार गरेका थिए । मेयर शाक्यले तयार गरेको बिदाइ पत्र उपमेयर सापकोटाले मेयर शाक्यकै कार्यकक्षमा च्यातेको नगरपालिकाका एक कर्मचारीले बताए । 

मेयरको सचिवालयमा रहेकाहरुलाई बिदाई गरिन लागिएको थियो । यसअघि एमालेबाट निर्वाचित मेयरले आफू अनुकुल सचिवालय बनाएका थिए । अहिले कांग्रेसबाट विजयी भएका मेयर शाक्यले पहिलेका सचिवालयमा रहेका कर्मचारीलाई सम्मानपूर्वक बिदाई गरी आफू अनुकुल राख्न चाहेका हुन् । सचिवालयमा आफू अनुकुल कर्मचारी चाहिने हुँदा पहिलाका कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्न मेयर शाक्यले बिदाई पत्र बनाएका थिए । उनले हाल सचिवालयमा रहेका कर्मचारीलाई केही अवसर दिने गरी बिदाइ गर्न लाग्दा उपमेयरले पत्र च्यातेकी हुन् । बिदाइको पत्र च्यातिदिएपछि विवाद बढेको छ ।

पूर्व मेयरले नियुक्त गरेको कर्मचारीको करार अवधि २०७९ असार ३२ गते सकिएको हो । करार अवधि सकिएपछि साउन २२ गते उनीहरुलाई धन्यवाद सहित बिदाइ पत्र तयार गरिएको मेयर शाक्यले बताए । सचिवालयमा रहेका एमाले जिल्ला कमिटी सदस्य सरिता रायमाझी, एमाले नेतृ उमा प्रजापति लगायतकालाई निरन्तरता दिनुपर्ने एमालेको माग छ ।
 


Author

थप समाचार
x