राजनीति

बञ्चरेडाँडामा फोहोर फाल्न सदाका लागि बन्द गर्ने स्थानीय राजनीतिक दलको चेतावनी

इकागज |
साउन २९, २०७९ आइतवार २१:५६ बजे

काठमाडौँ - कुडुले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिन स्थानीय दलहरू सहमत भएका छन् । धादिङको धुँनिवेसी नगरपालिकाका अध्यक्ष तथा सभापतिहरूलाई पत्र लेख्दै वडा नम्बर १ का  सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीककृत नेकपा समाजवादी फोहोर व्यवस्थापन गर्न सदाका लागि नदिन सहमत भएका हुन् । 

धुनिवेशी नगरपालिका - १ का कांग्रेस सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र समाजवादीका अध्यक्ष भिषण धितालले अव्यवस्थित फोहोर व्यवस्थापनले स्थानीयमा असर परेको र विभिन्न दीर्घ रोगहरू देखा परेकाले फोहोर सदाका लागि बन्द गर्ने बताएका छन् । उनीहरूले प्रमुख पार्टी नेकपा एमालेसहित सबै सर्वदलीय दलहरू मिलि फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई नै अग्रसरता लिन माग गरेका छन् । 



उनीहरूले काठमाडौँ महानगरलगायत राज्यका विभिन्न अंगहरूसँग १७४ वटा सहमति भएको र त्यो सहमति कार्यान्वयन गर्न कुनै पहल नगरेको समेत आरोप लगाएका छन् । सहमति कार्यान्वयन गर्नुको साटो प्रहरी प्रशासन घरभित्रै पसेर ज्याजती गर्दै उल्टै स्थानीय पीडितहरूलाई विभिन्न अभियोग लगाई दुख दिने गरेकाले फोहोरमैला सदाका लागि बन्द गर्ने नेतृत्व राजनीतिक पार्टीले गरिदिनुपर्यो भनेपछि सत्ता गठबन्धन दलहरू सहमत भएको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरूले स्वास्थ्य जस्तो कुरालाई हल्कासँग लिएमा अब आउने संघ र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने धम्की दिएका छन् । 


Author

थप समाचार
x