राजनीति

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली

इकागज |
साउन ३१, २०७९ मगलवार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौँमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरे ।

‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’


उनले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताए । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन,' उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । महिला आन्दोलन, जागरण र सशक्तीकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरे । उनले राजनीतिलाई शुद्ध बनाउनुपर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गरे । यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उनले आरोप लगाए ।

आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उनले लगाए ।


Author

थप समाचार
x