राजनीति

प्रधानमन्त्रीलाई ओलीकाे प्रश्‍न : श्रीमती र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर हुन्छ पोलिटिक्स ?

इकागज |
साउन ३१, २०७९ मंगलबार १७:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिर समेत गरे ।


मंगलबार काठमाडौँमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले भने, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ?'

उनले अगाडि भने, 'पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’


Author

थप समाचार
x