राजनीति

नेपाली कांग्रेसभित्रको अहंकारले सिट बाँडफाँट हुन सकेन : माधव नेपाल

बाबुराम भण्डारी |
भदौ १८, २०७९ शनिवार १८:३२ बजे

विराटनगर- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसभित्रको अहंकारले सिट बाँडफाँट हुन नसकेको बताएका छन् । कांग्रेसले हैसियतभन्दा माथि १०० सिट राखेर उभ्रिएको सिटमात्रै अरु दलहरूले बाँड्नुपर्ने अहंकार देखाएको उनले बताए ।

शनिबार पेशागत महासंघ मोरङको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले पनि कांग्रेसलाई मुखभरीको जवाफ दिइसकेको जिकिर गरे । नेपालले एकीकृत समाजवादीमा उम्मेदवारहरूको कुनै कमी नभएको तर जित्ने ठाउँमा मात्रै उम्मेदवार खडा गर्नुपर्ने उल्लेख गरे । जित्ने ठाउँमा मात्रै चुनाव लड्नका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल चलाइरहेको सुनाउँदै उनले कांग्रेसले मात्रै अहंकार प्रदर्शन गरेको टिप्पणी गरे ।


‘कांग्रेसमा एउटा अहंकार देखिएको छ, १०० सिट चाहियो हामीलाई भन्छन्, उभ्रिएको सिट तिमीहरू बाँड भन्छन्,’ नेपालले भने, ‘हामीले उनीहरूलाई मुखभरीको जवाफ दिएका छौं, तिमीहरूले कति जितेका छौं थाहा छ पहिले ? २३ सिट, त्यसको ३ गुना तिमीहरू लेऊ ६९ सिट, थपिदियौं एउटा ७० सिट ।’

उनले कांग्रेसलाई ७० सिट लिन भनिरहेको खुलासा गरे । तर, कांग्रेसले भने १०० मा अडान राख्दा सिट बाँडफाँट मिलाउन गाह्रो परिरहेको बताए । कांग्रेसले धेरै पछाडि सरे ९० सिटमा मात्रै झर्ने अवस्था रहेकाले सहमतिको कोसिस भइरहेको सुनाए । तर, सहमति नभएको खण्डमा भने एक्लै भएपनि चुनावमा उठ्न आँट गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘के भयो, के भयो भनेर तपाईंहरूको मनमा प्रश्न होला, भयो भनेको उही बालुवाटारमा बालुवा फेरेको फेरै छ, बालुवाबाट तेल नै निस्किरहेको छैन, आजपनि पेल्ने हो कि म यही छु, बेलुकातिर पेल्ने हो भने पेल्ने कोसिस गरिन्छ, सहमतिको कोसिस छ,’ उनले भने, ‘भएन भने पनि एक्लै उठ्ने आँट गर्नुपर्छ, यो हाम्रो निश्कर्ष छ, समानुपातिकमा कसैलाई भोट पर्ने होइन, हाम्रो भोट हामीलाई नै पर्ने हो, २० लाख भोट पायौं भने २० देखि २५ सिट हाम्रो सुरक्षित हुन्छ ।’

उनले सोही आधारमा प्रदेश सभाहरूमा सदस्य निर्वाचित गर्न सक्ने गरी निर्वाचनमा परिचालन हुन पनि आग्रह गरे । नेपालले अहिले पनि चौथाे दलको हैसियतमा रहेकाले त्यसलाई टिकाउने गरी मेहेनत गर्न आग्रह गरे ।

उनले एमालेतर्फ संकेत गर्दै वाम आन्दोलनमा खतरा, भ्रष्टीकरण, व्यक्तिवादी प्रवृत्ति र विचलन हाबी भएको दाबी गरे । त्यसैको विकल्पमा इमान्दार कम्युनिष्टहरू एउटै झण्डामुनि गोलबन्द गरेर अघि बढ्न आफूले प्रयास गरिरहेको उल्लेख गरे । चुनावी एकताबाहेक माओवादीसँग कुनै पनि खालको एकताको सम्भावना नरहेको दाबी उनले गरे ।

'कसैकसैले एकीकृत समाजवादीलाई माओवादीमा विलिनिकरणको गफ हाँकिराखेका होलान्, त्यसमा कुनै सत्यता छैन, हामीले जो जो सहमत हुन्छन् छलफल गर्दै जान्छौं,’ नेपालले भने, ‘तर चुनावभन्दा पहिले कुनै एकताको सम्भावना छैन, पार्टीमा छलफल चलिरहन्छ, हामी कसैमा विलिन हुने होइन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x