राजनीति

निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछुः प्रचण्ड

इकागज |
भदौ २३, २०७९ बिहीबार १९:२० बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका छन् ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए । अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे । 


उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाए । उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने दाबी गरे । 

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए । उनले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गरे । उनले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताए । 

अध्यक्ष दाहालले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताए ।  


Author

थप समाचार
x