राजनीति

जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमति

इकागज |
भदौ २७, २०७९ सोमबार १६:७ बजे

काठमाडौँ- हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।

सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले सो निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक जानकारी गराएका हुन । सहमति अनुसार नेकपा (संयुक्त)ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछ । अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) संग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे । उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरूले स्वीकार गरेर जाने बताए ।


पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरूले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताए । उनले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरूबीच सहमति रहेको बताए ।

दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नामावली तय गर्ने पनि सहमति पत्रका उल्लेख गरिएको छ ।  


Author

थप समाचार
x