किन फुट्यो सिके राउतको जनमत पार्टी ?
जनकपुरधाम : डा. सिके राउत नेतृत्वको जनमत पार्टी पनि फुटको सिकार भएको छ । दुई वर्षअघि गठित जनमत पार्टीबाट सह संयोजक कैलाश महतो विधिवत रुपमा अलगत भएका छन् ।
२०७५ चैत ५ गते सिरहाको लहानमा सम्पन्न दुई दिने बैठकबाट सरकारसँगको सम्झौता पश्चात स्वतन्त्र मधेश गठबन्धनबाट जनमत पार्टी घोषणा गरिएको थियो । ३५ सदस्यीय रहेको सो जनमत पार्टीबाट कैलाश महतोसहितका केन्द्रीय कार्य समितिका ८ सदस्य बाहिरिएका छन् ।
राउतबाट छुटिएका महतोले आइतबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी आफ्नो संयोजकत्वमा १४ सदस्यीय ‘स्वाधीन मधेस जनअभियान’ केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
महतो वि.सं. २०६५ देखि नै डा. सिके राउतसँग स्वतन्त्र मधेशका लागि संघर्ष गर्दै आएका थिए । स्वतन्त्र मधेशका लागि लामो संघर्ष पश्चात राउतले आफ्नो राजनीतिक स्वार्थका कारण सरकारसँग सम्झौता गरी मधेशी जनतालाई धोखा दिएको आरोप महतोको रहेको छ ।
किन अलग भए महतो?
राउतको तानाशाही व्यवहार झेल्न नसकेपछि आफू बाध्य भएर अलग भएको महतोले बताए । विभेद रहित आत्मनिर्णयसहितको स्वतन्त्र मधेशको सपना देखाएको कारण आफू राउतको अभियानमा लागेको स्मरण गर्दै उनले भने, ‘दर्जनौ अभियानी सिके राउतको पछि पछि गयौं, जेलनेल समेत भोग्यौं तर उनको स्वार्थपूर्ण कपट चरित्र हामीले बुझ्न सकेनौ । हामीले त्यो बेला नै राउतको साथ छोडन प्रयास गरेका थियौं जुन बेला केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरी मुद्दालाई तिलाञ्जली दिई अभियानलाई पार्टीमा गठन गरियो ।’
स्वतन्त्र मधेशका सपना देखाउने राउतमै अहिले हिटलरशाही प्रवृृति हावी भएको आरोप समेत लगाए। ‘पार्टी भित्र विगतमा मधेशी जनतासँग गरिएको वाचासहितको मुद्दा उठान गर्दा अरुलाई कुनै वास्ता नै नगर्ने, आफू बाहेक अरुको पदीय मर्यादा नै कायम नराख्ने लगायतका क्रियाकलापले आजिज भई अलग भएका हौं ।’ उनले अगाडि भने ।
दुई वर्षको अन्तरालमा सहसंयोजक हुँदा पनि स्थायी कमिटिको बैठकमा आफूलाई केही बोल्नै नदिने, बैठकमा सहभागी नै नगराउने लगायतका व्यवहारले आफ्नो समूह बाहिरिएको उनले बताए । आफू कुनै पदको लोभले अलग नभएको समेत उनले स्पष्ट पारे ।
‘पदीय लोभ नै भएको भए २०४४ सालदेखि माले हुँदै एमालेसम्म, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतोको सद्भावनाको उच्च पदमा नै बसें । पदकै लोभ हुन्थ्यो भने ती पार्टीहरुमै बसेर अहिलेसम्म मन्त्रीसम्म भइसक्थे ।’ उनले भने ।
स्वाधीन मधेश जनअभियानको मुद्दा
मधेशीलाई विभेद रहित आत्मनिर्णयको अधिकार सहितको प्रमुख ३ वटा मुद्दा लिएर आफूहरूअघि बढ्ने महतोले बताए । अब बिगतमा संयुक्त मधेश गठबन्धनसँग गरेको ८ बुँदे र २२ बुँदे लगायत सम्झौताको पूर्ण कार्यान्वयन, देशमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र मधेशीलाई स्वतन्त्रताका लागि संघर्ष गर्ने उनको भनाइ छ ।
उनले भने, ‘स्वाधीन मधेश जनअभियानले सिके राउत जस्तो अलग मधेशको स्वतन्त्रताका लागि होइन शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका देशका हरेक निकायमा मधेशीलाई स्वतन्त्रताका लागि मधेशका २२ वटै जिल्लामा संगठित भएर नयाँ संघर्षको थालनी गर्नेछौ ।’
महतोसँगै जनमत पार्टी केन्द्रीय समितिका रमेश सिंह, संजयकुमार साह, सतिला यादव, ध्रुवप्रसाद कहार (गौंड), महेन्द्रप्रसाद चौधरी, हकिकुल्लाह मुसलमान, दिनेशप्रसाद यादव, देवकान्त सिंह, सुजित कुशवाहा, अनवर खान, जगरनाथ साहनी, प्रवीण महतो र नारदमुनि मण्डलस अल्गिएर जनअभियानमा आएका छन् ।
दुर्व्यवहार गरिएको छैन : जनमत
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतमाथि महतोले लगाएको आरोपका विषयमा जिज्ञासा लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अहिले डा. राउत मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् ।राउतको आदेश बिना पार्टीका कुनै पनि नेता मिडियामा बोल्न मान्दैनन् ।
अथक प्रयासपछि जनमत पार्टीका स्थायी कमिटी सदस्य एवं राउतका प्रवक्ता दिपक साहले मुख खोले । उनले भने, ‘सह संयोजक महतोले पार्टी छाडेको भन्ने कुरा केन्द्रीय समितिमा अधिकारिक धारणा आएको छैन । उहाँसँग स्थायी समिति बैठकमा कहिले पनि कुनै किसिमको दुव्र्यवहार भएको छैन । जहाँसम्म अलग हुन कुरा छ त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो ।
साहले थप्दै भने, ‘महतोजी निस्वार्थ व्यक्ति हुनुहुन्छ, अध्यक्षजीसँग कुनै वादविवाद पनि भएको छैन, तर राजनीतिमा विचारको मतभिन्नता हुन्छ यसमा पार्टी नै छोडनुको कुनै तुक छैन ।’ महतो अलग हुँदा पार्टीलाई कुनै असर नगर्ने उनले दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया