राजनीति

‘पार्लियामेन्टमा महेश आचार्यको खाँचो छ’

पदविहीन बनाइएकोमा कोइरालाको चिन्ता

बाबुराम भण्डारी |
असोज ७, २०७९ शुक्रबार १९:३ बजे

विराटनगर- कांग्रेसभित्र बौद्धिक नेताको छवि बनाएका महेश आचार्य १४औं महाधिवेशनमा उपसभापति पदमा पराजित भएयता नेतृत्वबाट पदविहीन बनाइएको भन्दै नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका पूर्वनेता तथा पार्टी केन्द्रीय सदस्य राजीव कोइरालाले चिन्ता व्यक्त गरेका छन् । 

नेपाली कांग्रेस संसदीय दलले आफ्नो कार्यकाल सकिएपछि प्रकाशन गरेको स्मारिका सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले पार्टीभित्र प्रष्ट विचार राख्न सक्ने नेताका रूपमा चिनिएका आचार्यलाई वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा समेत मनोनित नगरेकोमा गुनासो गरेका हुन् । 


कोइरालाले पाँच पार्टीबाट राष्ट्रपतिको कदमप्रति विज्ञप्तिमार्फत विरोध जनाइएपछि तर्कपूर्ण कुरा कतैबाट नआएको भन्दै नेता आचार्यले बौद्धिक क्षमताले मात्रै राष्ट्रपतिको कदम असंवैधानिक भएको पुष्टि गर्न सकेको बताए ।

‘राष्ट्रपति महोदयले नागरिकता विधेयक फिर्ता गर्नुभयो, यसबारे कतैबाट प्रष्ट कुरा आएको थिएन, हाम्रै पार्टीले पनि जोडदार रुपमा खण्डन गर्न सकेन,’ कोइरालाले भने, ‘पार्लियामेन्ट यस्तो नेताको कमी रहेछ नि त, मेरो अनुरोध के छ भने महेश दाइजस्तो मान्छे पार्लियामेन्टमा भयो भने राम्रो हुँदो होला नि त, महेश दाइ जस्तो मान्छेलाई अहिलेसम्म केन्द्रीय सदस्यमा मनोनित नगरेर के गर्न खोज्नुभएको हो हाम्रा सभापतिज्यूले ?’

कार्यक्रममा नेता आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद्‍ले पठाएको विधेयक प्रमाणीकरण नगरेको बताएका थिए । आचार्यले राष्ट्रपतिबाट संविधानको मूल भावना नै उल्लंघन गरेको आरोप लगाउँदै संसद्‍ले पारित गरेर पठाइएको विधेयक संविधानविपरीत भए त्यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै हुने दाबी गरेका थिए ।

आचार्यले वर्तमान संविधानले राष्ट्रपतिलाई असीमित अधिकार प्रयोग गर्ने अधिकार नदिएको तर्क गर्दै विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको बताए । संविधानले त्यस्तो अधिकार प्रयोग गर्न स्वीकृति नदिए पनि राष्ट्रपतिले गरेको कार्यले राष्ट्रपति राख्नुपर्ने विषयमै प्रश्न उठेको उनको भनाइ थियो । उनले विश्वमा राष्ट्रपति शासन भएका मुलुकहरू मध्ये दुई तिहाई निरंकुशतातर्फ गएको पनि जिकिर गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले संघीयताका नाममा प्रदेशलाई पंगु बनाउन खोजिएको आरोप लगाए । उनले कांग्रेस प्रतिपक्षमा हुँदा सशक्त भूमिका खेलेको भन्दै सत्ता पुगेपछि भने काम गर्न नसकेको बताए । गठबन्धनका नाममा कांग्रेस पार्टी पुच्छर मात्रै बन्न नहुने र पार्टीलाई मिँयो बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

संसदीय दलका पूर्वउपनेता तथा प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्कीले पार्टीले आगामी निर्वाचनबाट प्रदेश १ मा कांग्रेसको स्पष्ट बहुमतको सरकार बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले टिकट पाए जितेर र नपाए जिताएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे । साथै, सरकारमा सहभागी भएको दलको हिसावले प्रदेश नामकरण गर्न नसकेको प्रति दलको भागमा परेको हिसावअनुसार जिम्मेवारी बहन गर्दै चुनावमा जानुपर्ने उनले बताए ।

संसदीय दलका पूर्वप्रमुख सचेतक सूयर्माराज राईले कांग्रेसले तीन वर्ष प्रतिपक्षमा बसेर गरेका कामलाई स्मारिकामार्फत अभिलेखिकरण गरिएको बताएका थिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x