राजनीति

देउवाको ध्यान सत्ता समीकरणमा भन्दा ‘एमसीसी’ पारिततिर

मधुसुधन भट्टराई |
बैशाख ५, २०७८ आइतबार १२:५५ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ध्यान सत्ता समीकरणमा भन्दा पहिला अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता पास कसरी गर्ने भन्ने रहेको बताएका छन् । पार्टीका पदाधिकारीहरूको अनौपचारिक बैठकमा देउवाले कांग्रेस र मुलुकका लागि नयाँ सत्ता समीकरण बनाउने भन्दा एमसीसी पास गर्नेमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक अघि देउवाले बैठकमा कांग्रेसले प्रस्तुत गर्ने एजेण्डाबारे छलफल गरेका थिए । आफै निवास बुढानिलकण्ठमा देउवाले नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणलगायत नेताहरूसँग छलफल गरेका थिए ।


छलफलको सुरुवात गर्दै देउवाले सर्वदलीय बैठकको एजेण्डामा एमसीसीको विषय आफूले जोडदार रूपमा उठाउने सोच बनाएको हुँदा सुझाव दिन भनेका थिए । ‘मेरो ध्यान सत्ता समीकरणभन्दा पनि एमसीसी कसरी पास गर्ने भन्नेमा छ । यही विषय सर्वदलीय बैठकमा उठाउनु पर्नेछ’ देउवाको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने ।

बैठकमा सहभागी नेता पौडेल, उपसभापति निधि, महामन्त्री खड्कालगायत नेताले एमसीसीबारे समर्थन जनाए । बैठकमा देउवाले एमसीसी पास गर्नुपर्ने कारण प्रष्ट्याउँदै भनेका थिए, ‘एमसीसी विकास आयोजना हो । यसमा कुनै शैन्य प्रयोजन छैन । विकास परियोनाका आधारमा अगाडि बढेपछि हाम्रो पालामा सम्झौता गरेका हौं ।

परियोजना अगाडि बढ्न सकेन भने नेपालको भौतिक विकासमा गम्भीर प्रभाव पार्छ । दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायले नेपालमा लगानी गर्ने वातावरण बिग्रिन्छ । अनुदान दिने र ऋण दिने वातावरण बिग्रिन्छ । मुलुकको विकासका लागि यो पास हुनुले धेरै ठूलो अर्थ राख्छ ।’

अर्थ मन्त्रालयले २०७६ असार ३० मा अमेरिकी सहायता सम्झौता पत्र (मिलेनियम च्यालेन्ज सम्झौता, कम्प्याक्ट) संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, दर्तापछि संसदीय अनुमोदन निम्ति कार्यसूचीमा पर्न सकेको छैन ।

त्यसपछि नेपा पौडेलले एमसीसी पास भइसक्नुपर्ने भए पनि नभएको र अब कांग्रेसले पहलकदमी लिएर पास गर्नुपर्ने बताएका थिए । त्यसपछि पुनः देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पास गर्ने माहोल बनाउन नसकेको भन्दै आफूले अनौपचारिक रूपमा पहलकदमी सुरु गरेको बताएका थिए । 

पदाधिकारी बैठकमा भएको सहमतिअनुरुप देउवाले एमसीसीका विषयमा नेकपा माओवादी केन्द्रसँग पनि कुराकानी गर्ने यो परियोजनामा माओवादी पनि सकारात्मक हुनुपर्छ । सहमतिबाट पास गर्न सक्यो भने अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जान्छ । ‘ओलीजीले मात्रै यो प्रस्ताव पास गराउन सक्नु भएन’, देउवाको भनाइ थियो,  ‘कांग्रेसले अग्रसरता लिनुपर्छ ।’

देउवाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा भएको सर्वदलीय बैठकमा एमसीसी प्रस्ताव अगाडि बढाउने र पास गर्ने भन्‍ने धारणा राखेका थिए । कांग्रेसले अग्रसरता लिएपछि सभामुख पनि सकारात्मक हुने माओवादी केन्द्रका शीर्ष नेताहरू सकारात्मक जोशिला युवा नेताहरूलाई मनाउन समय चाहिन्छ भनी देउवाले समय मागेका छन् ।

मधेशवादी दलहरू पनि यो प्रस्ताव अगाडि बढाउन सहमत छन् । हालसम्म राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै सहमत नभएको माओवादीले एमसीसीबारे रहेका धारणा हटाउन पर्छ । देउवाले आजको केन्द्रीय समिति बैठकमा पनि एमसीसीबारे व्रिफिङ गर्ने बताएको ती सदस्यले जानकारी दिए । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x