राजनीति

गोकुल बास्कोटालाई विरासत जोगाउन सकस, यसअघिका सारथि नै ‘तगारो’

किशोर बुढाथोकी |
असोज १३, २०७९ बिहिवार १८:१० बजे

काठमाडौं– २०७४ सालको निर्वाचनमा काभ्रे–२ बाट सानदार मतसहित चुनाव जित्दा एमाले नेता गोकुलप्रसाद बास्कोटालाई माओवादीको मात्रै हैन एमालेका हस्तीद्वय कृष्णप्रसाद सापकोटा र विदुर सापकोटाको पनि साथ थियो । दुई सापकोटाको बलबुताले कांग्रेसका मधु आचार्यमाथि उनी हाबी बनेका थिए । र, चुनावी नतिजा उनको पोल्टामा पर्‍यो ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका बास्कोटाले कांग्रेसका आचार्यलाई १७ हजार ४ सय ४८ मतान्तरले पछाडि पारे । बास्कोटाले ५४ हजार ४ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आचार्य ३६ हजार ५ सय ७९ मतमै खुम्चिन बाध्य बने ।


काभ्रेको यो क्षेत्र एमालेको पकड मानिन्छ । मानिन्छ मात्रै हैन यसअघिका चुनावी परिणामले पनि स्पष्ट देखाएको छ । देशभर माओवादीको दबदबा रहेको २०६४ को पहिलो संविधानसभा निर्वाचनमासमेत हाल यो क्षेत्र पर्ने स्थानबाट एमाले नै विजयी बनेको थियो । ०६४ मा माओवादीलाई पन्छाएर विजयीको माला पहिरिने एमालेका उम्मेदवार उनै कृष्णप्रसाद सापकोटा हुन्, जो अघिल्लो निर्वाचनमा बास्कोटालाई जिताउन ‘मूल खम्बा’को भूमिकामा थिए ।

त्यस्तै २०७० मा यहाँबाट विदुर सापकोटा विजयी भए । उनी पनि एमालेबाटै निर्वाचित भएका हुन् । विदुर पनि ०७४ मा बास्कोटालाई सत्तामा पुर्याउन आफ्नो बुताले भ्याएसम्म लागेका थिए । यी दुई सापकोटाले काभ्रेको साविक क्षेत्र नं. ४ बाट जितेका थिए । जुन गाभिएर गोकुल बास्कोटा उठ्ने क्षेत्र नं २ मा समाहित भएको छ ।

अफ्ठ्यारो अवस्थामा गरी दुई पटक सापकोटा भाईले जितेर एमालेले आफ्नो किल्ला बनाएको यो क्षेत्र ०७४ मा भने बास्कोटालाई सुम्पेका थिए । 

आउँदो मंसिर ४ मा हुने चुनावको माहोल अहिले गाउँदेखि सहरसम्मै छ । जसले काभ्रे–२ लाई पनि छपक्कै छोएको छ । तर, यसपटक भने एमालेले आफ्नो विरासत जोगाउन सक्छ या सक्दैन भन्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ, कारण यसअघिको चुनावमा सारथि बनेका पूर्व सांसदद्वय सापकोटा यसपालि बास्कोटाको साथमा छैनन् । साथमा मात्रै हैन यो चुनावमा सापकोटा दुई भाई बास्कोटाकै विरोधी भएर उभिएका छन् । बास्कोटाको तगारो भएका छन् । यसअघिको निर्वाचनमा बास्कोटाको काँध थापेका दुवै पूर्व सांसद सापकोटा नेकपा एकीकृत समाजवादीमा छन् ।

आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर निर्वाचनमा होमिने सहमति गरिसकेको छ । त्यसो हुँदा एमालेका बास्कोटा लगभग एक्लिनेछन् भने उनलाई यसअघि साथ दिएका सापकोटाद्वय गठबन्धनमा हुनेछन् । यी दुवै नेता एमाले फुटपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावजादीमा समाहित छन् ।

सत्ता गठबन्धन सिट बाँडफाँटमा व्यस्त छ । प्रारम्भिक सूचनाअनुसार काभ्रे–२ कांग्रेसको भागमा पर्ने निश्चितजस्तै भएको छ । तर, कांग्रेसबाट उम्मेदवार तय भइनसकेको अवस्था छ । तर, यसअघि हार व्यहोरेका मधु आचार्यनै कांग्रेसबाट निर्विकल्प हुन सक्छन् । कांग्रेस उम्मेदवारलाई नेकपा माओवादी केन्द्रसँगै भोट बैंक मानिएका पूर्व दुई सापकोटाको पनि साथ हुनेछ । सापकोटा गठबन्धनको साझा उम्मेदवार बन्ने लाइनमा छन्  । उनले आफ्नो सक्दो प्रयास गरिरहेका छन् । उनलाई टिकट पाउनबाट रोक्ने भनेकै गठबन्धनले यो क्षेत्र कांग्रेसको भागमा पार्नु हो ।

उता एमालेबाट भने बास्कोटाको विकल्प अर्का नेता खास देखिएका छैनन् । खरो स्वभावका मानिने पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बास्कोटा एमाले अध्यक्ष केपी ओलीका विश्वासका पात्र मानिने भएकाले टिकट उनकै नाममा ‘कन्फर्म’ छ । यसरी हेर्दा अहिलेको सिनारियोले यहाँ बास्कोटा र आचार्यबीच चुनावी स्पर्धा हुनेछ । र, चुनावका बेला गोकुलविरुद्ध भ्रष्टाचार मुद्दा उठाउने तयारीमा गठबन्धन दल देखिन्छन् । 

यसो भएको खण्डमा आचार्य अघिल्लो हारको बदला लिने दाऊमा हुनेछन् । समीकरणले उनलाई बलियो सावित पनि गरेको छ । उता बास्कोटालाई भने २०६४ मा माओवादीको एकलौटीजस्तो देखिएको बेला पनि एमालेले जितेको ठाउँमा विरासत जोगाउन ठूलो चुनौति छ ।
खासमा बास्कोटालाई यो चुनाव जित्न निकै हम्मे पर्ने देखिन्छ । 

गठबन्धनबाट अर्का नेता उनका लागि तगारो बन्न सक्छन् उनी हुन् कांग्रेसका कञ्चनचन्द्र बादे । उनी २०७४ सालको निर्वाचनमा क्षेत्र नं २ प्रदेश ख मा कांग्रेसबाट उम्मेदवार बनेका थिए । तत्कालीन क्षेत्र नं ३ बाट २०७० सालको निर्वाचनमा बास्कोटालाई नै हराएका बादे समुदायस्तरमा जनतासँग भिजेका नेता हुन् । यो क्षेत्रसमेत अहिले क्षेत्र नं. २ मै गाभिएको छ । शिव हुमागाई‌काे चर्चा पनि कम छैन ।

दुई पूर्व सांसद सापकोटा, कांग्रेसका आचार्य र बादे मात्रै हैन गोकुललाई विजयको बीच बाटोमै रोक्नेहरु अरु पनि छन् । जुन बास्कोटालाई हराउन गतिलो हतियार हुन सक्छन् । त्यो हो २०७४ को चुनावमा गोकुल प्रतिनिधिसभामा उम्मेदवार हुँदा प्रदेश सभाबाट साथ दिने उम्मेदवारहरु ।

०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा बाँस्कोटा निर्वाचित हुँदा दुवै प्रदेश सभामा जितेका सांसदहरु उनको साथमा नभएकै कारण पनि गोकुलमाथि अर्काे समस्या थपिएको छ । काभ्रे–२ को प्रदेश ‘क’ बाट लक्ष्मण लम्साल र ‘ख’ बाट बसुन्धरा हुँमागाई सांसद बनेका थिए । पार्टी विभाजनपछि यी दुवै सांसद एकीकृत समाजवादीमा छन् । यसले पनि गोकुललाई ठूलो धक्का लागेको छ ।

अघिल्लो चुनावमा चारैतिरबाट सारथि बनेकाहरु गोकुलका निम्ति आफ्ना रहेनन् । मंसिर ४ मा हुने निर्वाचन आफ्नो पक्षमा पार्न गोकुललाई यसअघिका मत परिणामले पनि साथ दिएको छैन ।

गोकुल उम्मेदवार हुने काभ्रे–२ ले पाँच वटा स्थानीय तह छुन्छ । जसमध्ये ३ वटाको भूगोल सिंगो छ भने २ वटाले आधा भूगोल मात्रै यो छेत्रलाई पारेको छ । पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको पूर्ण क्षेत्र छ भने पनौती नगरपालिकाको १, २, ३, ११ र १२ नम्बर वडा र धुलिखेल नगरपालिकाको १, २, ३, ४, ५, ६ र ७ वटा वडा छन् ।

गठबन्धनलाई एकैछिन बिर्सने हो भने स्थानीय तहमा प्राप्त भएको वडाअध्यक्षहरुको मत आँकलन गर्दा गोकुलमै कोर्टमा बल पुग्न जाने देखिन्छ । तर, चुनावी सिनारियोले यस्तो भनेकै छैन । गठबन्धन पक्का हुने भएकाले एकल रुपमा एमालेको मतलाई गनेर बसेर मात्रै बास्कोटालाई कतैबाट पनि पुग्दैन । 

स्थानीय तहको निर्वाचनमा यहाँ एमालेबाट जितेका वडाध्यक्षहरुको कुल मत ४५ हजार ५ सय १४ छ । नेपाली कांग्रेस छेऊमै छ । कांग्रेसले ४५ हजार ४ सय ५६ मत प्राप्त गरेको छ ।

तथ्यांक अनुसार एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत ल्याउँदा माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरुको कुल मत ६ हजार ३ सय ७० रहेको छ । गठबन्धनको हिसाब गर्ने हो भने ६० हजार ५ सय २ मत छ । उता एमालेको ४५ हजार ५ सय १४ छ । करिब १५ हजार मतले गठबन्धन अगाडि देखिएकाले यो चुनावमा गोकुलले आफ्नो भविष्य कोर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । मतलाई हेर्दा गोकुल निकै पछाडि छन् ।

उता स्थानीय तहको प्रमुखले पाएको मतको आंकलन गर्दा पनि अवस्था उस्तै छ । यो क्षेत्रमा पाँचखाल नगरपालिका पर्छ । यो नगरपालिकामा पहिलेदेखि नै कांग्रेसले एकाधिकार जमाएको छ । यो नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको उम्मेदवारले जित हासिल गरेका छन् । बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएकाले यहाँबाट चुनावी परिणाम ‘लिड’ गर्ने गोकुलको सपना मात्रै हुनसक्छ ।

पनौतीमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसले जित्दा उपमेयरमा यो नगरपालिकामा एमाले विजयी भएको छ । बास्कोटाको गृहनगर हो मण्डनदेउपुर नगरपालिका । यहाँको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले जित निकालेका छन् । त्यस्तै त्यसैगरी, धुलिखेल नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार र उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ । स्थानीय तहको प्रमुखले जितेको समीकरण हेर्दा पनि समग्र काभ्रे–२ मा गठबन्धनकै दबदबा छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५८ हजार ७ सय ४९ मतदाता रहेका छन् । जसमा पुरुष ७९ हजार ७ सय ७ जना र महिला ७९ हजार ४२ हजार रहेका छन् जिल्लामा १ लाख ५९ हजार ४ सय ३ पुरुष र १ लाख ५३ हजार ७ सय ७२ महिला गरी ३ लाख १३ हजार १ सय ७७ मतदाता पुगेका हुन् । स्थानीय तहको निर्वाचनमा ३ लाख ३ हजार ५ सय ६० मतदातामा ९ हजार ६ सय १७ मतदाता थपिएका छन् ।
 


Author

थप समाचार
x