नयाँले मौका पाउनुपर्छ भन्दै महराले समानुपातिक सूचीबाट आफूलाई हटाउन लगाए
फाइल फोटो
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँलाई मौका दिने भन्दै आफ्नो नाम समानुपातिकको बन्द सूचीबाट हटाउन लगाएका छन् । महराकै आग्रहमा माओवादी केन्द्रले शनिबार उनको नाम बन्दसूचीबाट हटाएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
‘उहाँले नयाँलाई मौका दिनुपर्छ भनेर आफ्नो नाम हटाइदिन आग्रह गर्नुभयो,’ सचिव ढकालले इकागजसँग भने, ‘उहाँको इच्छाअनुसार उहाँको नाम सूचीबाट हटाइएको छ ।’ समानुपातिकको बन्द सूचीमा खस आर्य पुरुषबाट उनको नाम पहिलो स्थानमा थियो ।
महरा मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा र दाङबाट प्रत्यक्षतर्फ पनि पहिलो नम्बरमै सिफारिस भएका थिए । तर, उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । पछिल्लो समय महराले सार्वजनिक रुपमा नयाँलाई मौका दिनुपर्छ भन्दै आइरहेका थिए ।
महरा विसं २०४८ सालसहित यताका सबै निर्वाचनमा विजयी भएका छन् । उनी २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी पूर्वसभामुखसमेत हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया