राजनीति

एमालेमा थप भएका पदाधिकारी आधिकारिक नभएको दाबी गर्दै नेपाल समूह निर्वाचन आयोगमा, एक्सनमा जान सकिने ठाउँ छैन : आयोग

इकागज |
बैशाख ५, २०७८ आइतबार २०:२९ बजे

फाइल तस्बिर : सरोज बैजु

काठमाडौँ  : एमालेमा थप भएका पदाधिकारीको आधिकारिकता नभएको दाबी गर्दै माधव नेपाल समूहले निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ । आज आइतबार नेपाल समूहका नेता राजेन्द्र पाण्डे र बेदुराम भुसालले राजनीतिक दलसम्बन्धी ऐन अनुसार निवेदन दिएका हुन् । उनीहरुको निवेदन दर्ता नम्बर १२०८ हो ।  

उनीहरुले दिएको निवेदनमा गत फागुन २८ गते र चैत ७ गते अध्यक्ष केपी शर्मा ओलीले गरेका सबै निर्णय अवैधानिक भएकोले बदर गर्न माग गरेका छन् ।  भुसाल र पाण्डेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई लिखित निवेदन बुझाएका हुन् ।  


‘उहाँको पत्र आएको छ । हामीले दर्ता गरेका छौँ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘जानकारीमा आएपछि हामीले पत्र दर्ता गर्नु परेको हो । तर, यसमा आयोग एक्सनमा जाने ठाउँ छैन । यसलाई आयोगले जानकारीको रुपमा लिएको छ ।  एक्सनमा जान मिल्ने ठाउँ पनि छैन ।’ पाण्डे र भुसालले अध्यक्ष ओलीले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरेको, महाधिवेशन समिति परिवर्तन गरेको कुरा आयोगसमक्ष राखेका थिए । 

एमालेको ओली समूहले २० पन्‍ने अन्‍तरपार्टी निर्देशन जारी गरेर माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेकालाई पदाधिकारी नियुक्त गरेपछि नेपाल समूहले विराेध जनाउँदै आइरहेको छ । 


Author

थप समाचार
x