राजनीति

गठबन्धनबाट 'जसपा आउट, लोसपा इन'

इकागज |
असोज २१, २०७९ शुक्रबार १८:१३ बजे

फाइल फोटो

काठमाडौँ- सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।

जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो । गठबन्धनका तर्फबाट छिट्टै सिट बाँडफाँट टुंग्याउने बैठकमा सहभागी नेताहरुले बताएका छन् । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रबार पनि  गठबन्धनको बैठक बसेको हो ।


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब शनिबार सम्म समय बाँकी रहेकाले पनि बाँडफाँट सक्न दलहरु लागेका हुन् ।

बालुवाटार बैठकमा लोसपाका नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाल लगायतका नेताहरू सहभागी थिए । त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरु सहभागी थिए ।


Author

थप समाचार
x