राजनीति

मोरङ–६ : अघिल्लो हारको बदला लिन सक्लान् शेखरले ?

उपेन्द्र अर्याल |
असोज २५, २०७९ मगलवार १७:२३ बजे

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–६ बाट उम्मेदवारी दिएका छन् । उनीसँगै पूर्व सांसद् डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र नेता शिवकुमार बस्नेतको नामसमेत सिफारिस भएता पनि कोइरालाले टिकट पाएका थिए । 

एमालेबाट भने लालबाबु पण्डितले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा पनि मोरङ–६ मा यी दुईको प्रतिस्पर्धा थियो । यसपटक पनि दुवैको उम्मेदवारीले पुरानै प्रतिस्पर्धी आमनेसामने भए । कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा लडेका कोइरालाको राजनीतिक वृत्तमा आफ्नै प्रभाव छ । लालबाबु पनि एमालेका सरल नेतामध्ये गनिन्छन् । दुईको प्रतिस्पर्धाले यसपटक पनि सबैको ध्यान तान्ने देखिन्छ । 


२०६४ मा पनि उपनिर्वाचनमा कांग्रेस नेता कोइराला मोरङ–७ बाट विजयी भएका थिए । उनले मधेसी जनअधिकार फोरम, नेपालका चमुनारायण तवदारलाई हराएका थिए । शेखरले  १२ हजार ७१ मत ल्याएका थिए भने तवदारले ११ हजार ३ सय ७९ मत मात्रै पाएका थिए । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि कोइराला मोरङ–७ बाटै विजयी भए । उनले मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का विजयकुमार गच्छदारलाई हराएर विजयी भएका थिए । कोइरालाले १२ हजार ९ सय ८२ मत ल्याउँदा गच्छदारले मात्र १० हजार ५ सय ६४ मत ल्याएका थिए । 

गत  निर्वाचनमा भने शेखर एमालेका लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित भए । लालबाबुले ३३ हजार ९ सय ४१ मत ल्याउँदा शेखरले ३३ हजार २ सय ६६ मत पाएका थिए ।

यसपटक शेखरले निर्वाचन जिते अघिल्लो निर्वाचनको हारको बदला लिनेछन् । तर, उनी पार्टीमा प्रतिपक्षी नेताजस्तो देखिएकाले उनीसँग पार्टी भित्रैबाट असन्तुष्ट पक्षहरू छन् । पार्टीभित्र सिट बाँडफाँटमा पनि शेखर पक्षले सभापति देउवासँग असन्तुष्टि जनाएको थियो । उनले देउवाको विरोध गरेकै कारण कांग्रेसजन नै उनलाई हराउन लाग्छन् कि भन्ने डर कोइरालामा देखिन्छ ।

लालबाबु यसपटक पनि जित निकालेर आफ्नो जितको शिलशिला कायमै राख्न चाहन्छन् । उनी २०७२ मा व्यवस्थापिका संसद्बाट पारित निजामती सेवा ऐनमार्फत थपिएको निजामती सेवाका कर्मचारीले विदेशको डीभी, पीआर लिन नपाउने व्यवस्थाका कारण चर्चाको शिखरमा पुगेका थिए । मन्त्री भएर पनि साइकल चलाएर हिँडेरसमेत उनको चर्चा भएको थियो । तर, यसपटक उनले जित्छन् भन्ने निश्चित छैन । यसपटक एमालेलाई हराउन पाँचदलीय गठबन्धन छ । गठबन्धनको बलियो मत शेखरलाई जानेछ । यसले लालबाबुलाई जसपाको मात्रै साथ लिएर जित निकाल्न सहज देखिँदैन ।

वडागत मतमा शेखर अगाडि

मोरङ–६ मा बुढीगंगा गाउँपालिकाका सबै वडा, सुन्दर हरैंचा नगरपालिकाका ६ वटा वडा र विराटनगर महानगरपालिकाका ७ वटा वडा पर्छन् । बुढीगंगाका ७ वटा वडामध्ये कांग्रेसले ५ वटा, एमाले र माओवादीले एक–एक वटा वडा जितेका छन् । यस निर्वाचन क्षेत्रमा पर्ने हरैँचा नगरपालिकाका ६ वटा वडामध्ये तीन वटा एमालेले, दुई वटा एमाले र एउटामा स्वतन्त्रले जित हासिल गरेका छन् । यस्तै विराटनगर महानगरपालिकाका ७ वटा पालिकामध्ये ४ वटामा कांग्रेस विजयी भएको छ भने दुई वटामा एमाले र एउटामा जसपा विजयी भएको छ ।

गत स्थानीय निर्वाचनमा वडा उम्मेदवारको मत जोड्दा सबैभन्दा बढी कांग्रेसले पाएको छ । कांग्रेसले २८ हजार ४ सय २८ मत ल्याएको थियो । एमालेले २५ हजार २ सय ३६ मत ल्याएको छ भने माओवादीले ५ हजार ३ सय ५६ पाएको छ ।

जसपाले ३ हजार ९ सय ३९ मत पाउँदा राप्रपाले  ३ हजार ६ सय ८९ मत ल्यायो । यस्तै एकीकृत समाजवादीले २ हजार ३ सय ६९ मत मात्रै ल्याएको छ । दलहरूले वडामा ल्याएको मतलाई हेर्दा सत्तारुढ दलको गठबन्धन बलियो देखिन्छ । पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिए पनि लोसपाले साथ दिएको छ । कांग्रेस, माओवादी र समाजवादीले वडामा पाएको मत जोड्दा ३६ हजार १ सय ५३ हुन्छ । एमालेको एक्लैको मत २५ हजार २ सय ३६ मात्रै छ । यदि उसलाई जसपा र राप्रपा दुवैले साथ दिए पनि पण्डितले सत्ता गठबन्धनको मतलाई जित्न सक्ने देखिँदैन ।
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x