राजनीति

काठमाडौँ-५ : अनुभवी ईश्वर भर्सेज जवान प्रदीप र रञ्जु

उपेन्द्र अर्याल |
कात्तिक २, २०७९ बुधबार १६:२० बजे

काठमाडौँ– आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौैँ–५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले युवा उम्मेदवारहरूको सामना गर्नुपर्ने भएको छ । यस क्षेत्रबाट कांग्रेसका युवा नेता प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट रञ्जु दर्शनाले पनि उम्मेदवार बन्न यही क्षेत्र चुनेकी छिन् ।

अघिल्लो पटकको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर विजयी भएका पोखरेललाई यसरी यसपटक नयाँ उम्मेदवारले चुनौती थपिदिएका छन् । युवा उम्मेदवारलाई हराएर जित निकाल्न पोखरेललाई सहज नहुने आंकलन गरिँदैछ । ईश्वर पोखरेल ६९ वर्षका हुन् भने प्रदीप बल्ल चालिस कटेर रमाउने उमेरका हुन् । रञ्जु भने चालिस कटेर रमाउने उमेरमा पुग्नै बाँकी छ । यसैले पनि यो चुनावलाई ज्येष्ठ भर्सेज युवाबीचको भिडन्तको रुपमा हेरिएको छ । 


काठमाडौँबाट जित्दै आएका पोखरेलले संसदीय निर्वाचनका अनुभवी खेलाडी हुन् । २०५६ देखि यताका चार वटा निर्वाचन लडेका उनको हार र जित बराबरी छ । ०५६ सालको निर्वाचनमा उनले काठमाडौँ–३ बाट लडेका थिए । त्यसबेला कांग्रेसका चिरञ्जीवी तिवारीलाई हराएर विजयी भएका थिए । ईश्वरले १५ हजार ९ सय ६५ मत ल्याउँदा तिवारीले १४ हजार ५ सय ५२ मत मात्रै पाएका थिए । 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस नेता नरहरि आचार्यसँग हारे । आचार्यले १३ हजार २ सय ४५ मत पाएका थिए भने पोखरेलले  ९ हजार १ सय २० मत मात्रै पाएका थिए । त्यसपछि २०६४ को दोस्रो संविधानसभाको निर्वाचनमा पनि पोखरेलको हारको शृंखला कायमै रह्यो । दोस्रो पटक पनि आचार्यले उनलाई हराए । उक्त निर्वाचनमा नरहरिले १५ हजार  ३ सय ६४ मत पाएर विजयी भएका थिए । पोखरेलले १४ हजार ७ सय २३ मत ल्याएका थिए । 

२०७४ को निर्वाचनमा भने उनका प्रतिस्पर्धी नयाँ थिए । कांग्रेसले नेता प्रकाशशरण महतलाई उठाएको थियो । उक्त निर्वाचनमा एमालेलाई माओवादीले समेत समर्थन गरेको थियो । वामगठबन्धनको समर्थनमा दुई पटक हार बेहोरेका पोखरेल झन्डै १० हजार मतान्तरले विजयी भए । उक्त निर्वाचनमा पोखरेलले २३ हजार २९ मत ल्याएका थिए भने महतले १३ हजार १ सय ६९ मत मात्रै पाएका थिए ।

उक्त निर्वाचनमा विवेकशील साझा दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए । यसपटकको निर्वाचनमा पनि जित निकाले पोखरेलको जितको शृखला कायमै रहने छ । तर, अघिल्लो पटक ल्याएको मतकै आधारमा जित्छन् भन्न सकिने अवस्था भने छैन । २०३५ सालमा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य बनेका पोखरेल २०४७ मा स्थापना भएको एमालेको केन्द्रिय सदस्य बने । त्यसयता उनी सत्ताको वरपर नै घुमिरहेका छन् । पोखरेल २०७४ मा उपप्रधान एवम् रक्षामन्त्री भएका थिए । यसअघि पनि उनी विभिन्न मन्त्रालयमा मन्त्री भएर काम गरिसकेका छन् । तर जतिवटा मन्त्रालयमा काम गरे पनि उनले अहिलेसम्म ‘आहा’ भनिने गरी काम गरेको रेकर्ड भने छैन । बरु उल्टै उनको कार्यकाल विवादै विवादमा बितेको इतिहास छ । 

पोखरेलको आफ्नै कमजोर छविबाहेक यो पटक मतदाता युवाहरूका पक्षमा सकारात्मक रहेको विश्लेषण छ । स्थानीय निर्वाचनमा युवासँगै स्वतन्त्र उम्मेदवारले ल्याएको लहरले पनि यो तथ्यलाई पुष्टि गर्छ । त्यसैले यो पटक उनको चुनावमा क्षेत्रमा रहेका युवा उनको जितमा बाधक बन्न सक्छन् । उनीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेल युवा नेतामा गनिन्छन् । यस पटक प्रकाशशरण महत समानुपातिक उम्मेदवार बनेपछि उनको ठाउँमा पौडेल उम्मेदवार बनेका हुन् । पौडेललाई सत्ता गठबन्धनको पनि साथ छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले यसपटक जनतामाझ ‘बीसीडी’ को अजेन्डा लिएर गएका छन् । ब्रेनड्रेनलाई रोक्ने, भ्रष्टाचारविरुद्ध लड्ने र दिगो विकासको योजना बनाउने आफ्नो चुनावी अजेन्डा रहेको सार्वजनिक गरेका छन् । 

यस्तै उनीहरूसँगै प्रतिस्पर्धामा स्वतन्त्रबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएकी छिन् । दर्शनाले २०७४ निर्वाचनमा काठमाडौँको मेयरमा उम्मेदवार दिएर चर्चा कमाएकी थिइन् । उनले त्यसबेला २५ हजार हाराहारी मत ल्याएकी थिइन् । अहिले विवेकशील तहसनहस छ तर रञ्जु दर्शनाले उल्लेख्य मत ल्याउन सक्ने विश्लेषण गरिएको छ । यसले गर्दा पोखरेल र पौडेल दुवैको हारजितमा दर्शना निर्णायक बन्न सक्ने सम्भावना पनि जिवित रहन्छ । रञ्जु आफैँले नजिते पनि उनले कुन पक्षको भोट काट्छिन् यसले दुई उम्मेदरवारको प्रतिनिधि सभामा जाने भविष्य निर्धारण गर्नेछ । 

वडागत मतमा एमाले नै अगाडि

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा यो क्षेत्रमा एमाले बलियो देखिएको छ । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका चार वटा वडा, बुढानिलकण्ठ नगरपालिकाका पाँच वटा वडा र टोखा नगरपालिकाका छ वटा वडाहरू पर्छन् । जम्मा १५ वडामध्ये एमालेले ११ वटा वडा जितेर पहिलो दल बनेको छ । तीन वटा वडामा एमाले विजयी भएको छ भने एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

वडागत हिसाबमा हेर्दा, वडाध्यक्षहरूले पाएको मतमा पनि एमाले नै अगाडि देखिन्छ । एमालेका वडाध्यक्षका उम्मेदवारले १९ हजार ७३ मत पाएका थिए । यस्तै कांग्रेसको उम्मेदवारले १४ हजार ८ सय ५३ मत पाएका थिए भने माओवादीका उम्मेदवारले एक हजार एक सय ६८ उम्मेदवार पाएका थिए । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले एक हजार ८ सय २७ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले दुई हजार ६ सय २२ मत पाएका थिए । सत्ता गठबन्धनमा भएका सबै दलको मत जोड्दा पनि एमालेकै मत अगाडि हुन्छ ।

त्यसैले स्थानीय निर्वाचनको मतका आधारमा एमाले बलियो देखिन्छ । तर, यसैका आधारमा पोखरेलले जितिहाल्ने अनुमान गर्न भने हतार हुनेछ ।  २०७४ अघिका दुई निर्वाचन कांग्रेसले निरन्तर जितेको काठमाडौँ–५ मा कांग्रेसलाई पनि कमजोर मान्न मिल्दैन । फेरि यसपटक कांग्रेसले युवालाई उम्मेदवार बनाएको छ । प्रदीप पनि यसपटक पोखरेललाई हराएर पहिलो पटक संसदीय यात्रा तय गर्न चाहन्छन् । तर, यो सपना पूरा गर्न उनले युवासँगै पाका मतदाताको पनि मन जित्नु पर्नेछ । तर, यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि प्रशस्त रहेकाले उनलाई आउने मत बाँडिन्छ कि भन्ने धेरैको आँकलन छ । 

गठबन्धनका कारण देशका धेरै चुनाव क्षेत्रको परिणाम मोटामोटी आँकलन गर्न सक्ने अवस्था छ । तर देशका केही चुनाव क्षेत्रझैँ काठमाडौँ ५ मा भने के हुन्छ ? भनेर भनिहाल्न सकिने अवस्था छैन । एमाले र ईश्वर पोखरेलको छवि अघिल्ला चुनावमा झैँ सग्लो रहँदो हो त परिणाम आँकलन गर्न सजिलो हुने थियो तर अहिले त्याे अवस्था छैन । तर गठबन्धनले पनि जनमत भएका उम्मेदवार यो क्षेत्रमा पठाएको छैन । त्यसैले यो क्षेत्रको चुनावले धेरथोर जे होस् उत्सुकता भने बढाउने काम गरेको छ । 


 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x