राजनीति

तेस्रो ट्रायलमा विश्वप्रकाश, मतदाताबीच नौला अग्नि

उपेन्द्र अर्याल |
कात्तिक ९, २०७९ बुधवार १४:३४ बजे

काठमाडौँ– आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–१ को प्रतिस्पर्धा रोचक हुने धेरैको अनुमान छ । यहाँबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रूपमा एमालेले अग्नि खरेललाई अगाडि सारेको छ । खरेल यसअघि दुई पटक संसद् छिरेका छन् भने विश्वप्रकाश संसद् छिर्न संघर्षरत छन् ।

खरेल २०६४ को पहिलो संविधानसभामा राष्ट्रपतिबाट मनोनीत भएर गएका थिए । २०७० दोस्रो संविधानसभामा भने समानुपातिकमार्फत संसद् छिरेका थिए । उनी प्रत्यक्ष निर्वाचन भने पहिलो पटक लड्दैछन् । झापाकै भएता पनि खरेल झापा–१ का नेता भने होइनन् । उनी झापा–२ बाट उठ्ने तयारीमा थिए । तर, पार्टी अध्यक्ष केपी ओलीले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेलाई झापा–२ को टिकट दिएपछि खरेल झापा–१ बाट उम्मेदवार बनेका हुन् ।


महामन्त्री शर्मा भने यसअघि दुई पटक झापा–१ बाट चुनाव लडिसकेका छन् । तर, दुवै पटकको निर्वाचनमा उनले हार बेहोर्नु परेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनले एमाले नेता रविन कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । कोइरालाले शर्मालाई ६ सय ८९ मतले हराएका थिए । त्यसबेला कोइराला १७ हजार २ सय २९ मत ल्याएर विजयी भएका थिए भने शर्माले १६ हजार ५ सय ४० मत पाएका थिए ।

२०७४ को निर्वाचनमा पनि  झापा–१ बाट उम्मेदवारी दिएका महामन्त्री शर्माले माओवादीका नेता सुरेन्द्र कार्कीसँग हारेका थिए । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी हुँदा शर्माले भने ३३ हजार ३ सय १९ मत मात्रै पाएका थिए । उक्त निर्वाचनमा शर्माको हारका कारणमध्ये एउटा कारण थियो– एमाले माओवादीको गठबन्धन । उक्त क्षेत्रमा एमाले र माओवादीको बाम–गठबन्धनका उम्मेदवार थिए, नेता कार्की ।

यस पटकको निर्वाचनमा भने त्यो समीकरण फेरिएको छ । एमाले राप्रपाको साथमा चुनाव लड्दैछ भने कांग्रेस र माओवादीलगायत पाँच दलको बाम–लोकतान्त्रिक गठबन्धन बनेको छ । शर्मा गठबन्धनको साथमा यसपटक संसद् छिर्ने दाउमा देखिन्छन् । उनी चुनावी सभाहरूमा पनि यसपटक आफूले जीतको माला लगाउने दाबी गरिरहेका छन् । ‘झापा–१ का मतदाताले मलाई ड्राइभिङ राम्रै गर्न सक्ने क्षमता भएको मानेको बुझ्नुपर्छ,’ इकागजसँगको अन्तरवार्तामा महामन्त्री शर्माले भने, ‘तर, लाइसेन्सका लागि ०७०/७४ मा ट्रायल दिँदा फेल भएँ । झापा–१ ले अब ट्रायलमा फेल गराउनुहुँदैन । मलाई पारित गरेर पठाउनु पर्छ भन्यो भने झापा– १ को माटोलाई ढुक्कका साथ भन्न सक्छु– अब कांग्रेसको तर्फबाट देशको प्रधानमन्त्री दाबी गर्नेगरी आउँदै छौँ ।’

उनले यसपटक निर्वाचन जितेर संसद्मा गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसमेत बताउँदै आएका छन् । तर, तेस्रो पटकको ट्रायल पास गर्न शर्मालाई एमालेको किल्ला भत्काउनु पर्नेछ । उनले पार्टीगत मत मात्रै नभएर एमालेको मत पनि आफूतिर तान्नु पर्नेछ ।

तर, उनको जितका लागि कांग्रेसकै नेता कृष्ण सिटौला बाधक बन्न सक्ने पनि अनुमान गरिएको छ । सिटौलाले शर्मालाई पार्टीमा आगाडि बढ्न नदिने कांग्रेसकै कार्यकर्ता बताउँछन् । उनकै असहयोगका कारण विश्वप्रकाशले अघिल्ला निर्वाचनमा पनि हार्नुपरेको उनीहरूको आरोप छ । दुईबीचको त्यो असन्तुष्टि स्थानीय निर्वाचनमा पनि पोखिएको थियो ।

स्थानीय निर्वाचनको उम्मेदवारीका दिन मेचीनगर नगरपालिकाको मेयर पदमा सिटौला पक्षका उम्मेदवार र शर्मा पक्षका उम्मेदवारबीच मनोनयनपत्र तानातान नै भएको थियो । अन्तिम समयमा सिटौला पक्षका केशव पाण्डेलाई पाखा लगाएर शर्मा पक्षका इन्द्रबहादुर बुढाथोकीले टिकट पाएका थिए । त्यो असन्तुष्टि आगामी निर्वाचनमा पोखिन सक्ने धेरैको अनुमान छ । त्यसैले विश्वप्रकाशले तेस्रो ट्रायल पास गर्न मतदाताको मत मात्रै होइन, सिटौलाको मन पनि जित्नुपर्ने हुन्छ । 

अर्का प्रतिस्पर्धी खरेल झापा–१ कम्युनिष्टको किल्ला भएकाले बलियो मनोबलसाथ अगाडि बढिरहेका छन् । यस क्षेत्रमा २०४८ यताका ६ वटा संसदीय निर्वाचनमा एकपटक कांग्रेसले जितेको छ भने बाँकी सबै कम्युनिष्टले जितेका छन् । तर, खरेललाई उक्त क्षेत्रको मतादाता नभएको, बाहिरबाट आएको बाहिरिया भन्ने आरोप छ । झापा–१ का लागि नयाँ उम्मेदवार खरेलले त्यहाँको आवश्यकता राम्रोसँग नबुझे पनि विकासका विभिन्न योजनालाई चुनावी सभामा प्रस्तुत गरिरहेका छन् ।  त्यसैबाट जनताको मन र मत जित्ने दाउमा छन्, उनी ।

स्थानीय निर्वाचनमा भने एमाले बलियो

स्थानीय निर्वाचनमा आएको मत परिणामलाई हेर्ने हो भने झापा–१ मा दुवै उम्मेदवारलाई जीत निकाल्न कठिन देखिन्छ । यो चुनाव क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका २ वटा वडा र बुद्धशान्तिका ४ वटा वडा पर्छन् । मेचीनगरको मेयरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले २६ हजार ४ सय ७८ मत ल्याएर जितेका थिए भने कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्रै ल्याएका थिए । वडाको हिसाबमा पनि अधिकांशमा एमाले विजयी भएको देखिन्छ ।

बुद्धशान्तिका ४ वटा वडामध्ये एमाले तीन वटामा विजयी भएको थियो भने कांग्रेसले एउटा वडामा मात्रै विजयी भएको थियो । भद्रपुरको  दुईवटै वडा एमालेले नै जितेको थियो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले ल्याएको मतका आधारमा पनि एमाले नै अगाडि देखिन्छ । उक्त निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २ सय ३२ मत ल्याएर पहिलो दल बनेको छ । त्यस्तै कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत पाएर दोस्रो दल बनेको छ । यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८ सय ३० मत ल्याएका छन् भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९ सय ५ ल्याएका छन् । एमाले विभाजन भएर बनेको दल एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १ हजार २ सय ५२ मत ल्याएका छन् । यस मतका आधारमा गठबन्धनका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी तीनवटै दलको मत जोड्दा पनि एमाले २ हजार बढी मतले अगाडि हुन्छ । अझ एमालेलाई राप्रपाको साथ छ । तर, स्थानीय तह निर्वाचनमा आएकै मतका आधारमा एमाले विजयी हुन्छ भन्न सकिन्न ।

स्थानीय निर्वाचनको मत परिणाममा हेर्दा एमाले बलियो देखिए पनि विश्वप्रकाशको आफ्नो व्यक्तिगत मत पनि राम्रै आउने आँकलन गरिएको छ । भर्खरै महामन्त्री बनेका शर्माको युवामाझ एक किसिमको क्रेज छ । शर्मा पनि युवाहरूको साथमा कम्युनिष्टको गढ भत्काएर विजयी हुने दाउमा छन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x