राजनीति

कास्कीका तीन क्षेत्र : ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता

इकागज |
कात्तिक २३, २०७९ बुधवार ११:५९ बजे

पोखरा - अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्राेपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेदवारले लगातार चुनाव जितेको रेकर्ड छैन ।

यसपटक केही क्षेत्रमा उम्मेदवार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा छ । उम्मेदवार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै महत्वका साथ हेरिएको छ । साँच्चै कास्कीमा 'ब्रेक थ्रु' हुन्छ कि पुरानै निरन्तरता ? 


२०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी २०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।

२०६४ मा माओवादीका देव गुरुङ विजयी भए भने २०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा २०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।

प्रदेशसभा (क) मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । २०७४ मा (क) मा माओवादीका दीपक र (ख) मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए । 

कास्की २ मा २०४८ र २०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भए । दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । २०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । २०६४ मा माओवादीका राजकाजी गुरुङ र २०७० मा कांग्रेसकी शारदा पौडेल तथा २०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भए।

रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ (क) मा एमालेका कृष्ण थापा र (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा (ख) मा कांग्रेसका थापा र एमालेकी मिना गुरुङबीच प्रतिस्पर्धा हुने छ । 

कास्की ३ मा २०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा २०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । २०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । २०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने २०७० मा उनैले दोहोर्‍याए ।

२०६४ र २०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको ४ अर्थात् हालको ३ नम्बर क्षेत्र रहेको निर्वाचन क्षेत्रमा २०६४ मा माओवादीकी दुर्गा विक र २०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रदेशसभा (क) मा माओवादीका रामजी बराल र (ख) मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी उम्मेदवार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् । 

क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा (क) मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा (ख) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुने छ । न्युज कारखाना


Author

थप समाचार
x